पाकिस्तानी भूमिमा लडाकु विमान उडाएर पुगेका भारतीय पाइलट अभिनन्दन भारतमा 'देशको हिरो' भएका छन्। पाकिस्तानी सेनाले उनलाई भारत फर्काएसँगै उनको 'बहादुरी' को चर्चा सर्वव्यापी छ।
पाकिस्तानले अभिनन्दनलाई गत शुक्रबार स-सम्मान भारत फर्काएको थियो। अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताएका थिए।
युद्ध जस्तो अवस्थामा पनि सकुशल फिर्ता भएका अभिनन्दनको सम्मानमा धेरैले उनका मूर्ति, चित्र र आकृतिहरू बनाएका छन्। विज्ञापनहरूमा पनि उनको नाम लिन थालिएको छ। यति मात्र होइन, अब उनी 'फेसन आइकन' पनि भएका छन्।
अभिनन्दनको जुँगा अहिले भारतीय पुरूषमाझ 'ट्रेन्ड' मा छ। उनको पहिचानसँगै जुँगा पनि यति चर्चित छ, धेरैले उनको जस्तै जुँगा बनाएर सामाजिक सञ्जालमा फोटा हाल्न थालेका छन्।
अभिनन्दनको जुँगाको स्टाइल 'ह्यान्डलबार' भनिएको छ। अलि बेग्लै खाले देखिए पिनि यो शैलीको जुँगा भारतमा नयाँ भने होइन। पुराना फिल्मका खलनायक, सेना तथा प्रहरीहरूले यसकिसिमको जुँगा राखेको पाइन्थ्यो। अहिले भने यो जुँगा अभिनन्दनको प्रतीक बनेको छ। उनका प्रशंसकले यसलाई 'बहादुरी र देशभक्ति' को संकेत मानेका छन्।
अभिनन्दनको जस्तो जुँगा बनाउन चाहने मात्र होइन, बनाइदिन चाहने पनि उत्तिकै रौसिएका छन्। बैंगलरूका एक नाइले सोमबार आफ्नो सेलुनमा आउने ग्राहकसँग पैसा नै लिएनन्। अभिनन्दनको जस्तो स्टाइल बनाउनेलाई उनले सित्तैमा दाह्रीजुँगा र कपाल मिलाइदिए।
'अभिनन्दनले हाम्रो देशका लागि धेरै गर्नुभएको छ। हरेक भारतीय अनुहार उहाँको जस्तै बनाउनुपर्छ भन्ने मलाई लागेको छ,' सेलुनका मालिक ननेश ठाकुरले भनेका छन्।
अभिनन्दनको जस्तो जुँगा बनाउनेमध्ये एक हुन् तेजस चौधरी।
'उहाँले हाम्रो देशका लागि यति धेरै गर्नुभयो। के म उहाँको सम्मान स्वरूप यति पनि गर्न सक्दिनँ त,' तेजसले भनेका छन्।
त्यस्तै अभिनन्दनको जस्तो जुँगा बनाउने एक एम्बुलेन्स चालक नवीन कुमारले भने, 'अभिनन्दन साँच्चै हिरो हुन्। त्यसैले मैले उनको जस्तो जुँगा बनाएको।'
अरू धेरै जनाले यस्तो जुँगा बनाउन चाहे पनि छोटो भएकाले नभएको बताएका छन्। जुँगा बनाउन नमिलेकाहरूले अभिनन्दनको सम्मानमै सेनाहरूको जस्तो कपाल काटेका छन्।
आज भारतका कुनाकुनामा चर्चित अभिनन्दनको सम्मानमा डेरी ब्रान्ड अमुलले उनको जुँगाबारे विशेष भिडियो नै बनाएको छ। अमूलले प्रायः समाजमा चर्चित विषयहरूमा यस्ता खास विज्ञापन बनाउँदै आएको छ।
बिबिसीको सहयोगमा