भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार जनतालाई कोरोना विरूद्ध लड्नका निमित्त ‘सात मन्त्र’ ध्यानमा राख्न जोड दिएका छन्।
मंगलबार देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मे ३ (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरे। यसै बेला उनले कोरोना भाइरससँग लड्न सबैले सात सिद्धान्तलाई ध्यानमा राख्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीको पहिलो सिद्धान्त अनुसार वृद्ध अवस्थामा रहेका नागरिक र विशेषमा पूर्व रोगी व्यक्तिको थप सर्तकताका साथ ख्याल गर्नुपर्नेछ।
यसैगरी मोदीले दिएको दोश्रो मन्त्रमा नागरिकहरू सरकारले तोकेको लकडाउनको पालना कडाइ पूर्वक गर्नुपर्ने बताएका छन् यस अन्तर्गत सामाजिक दूरी कायम गर्ने र घरेलु स्तरमा बनेका मास्कको प्रयोग गर्ने उनले बताए। प्रम मोदी स्वयंले सम्बोधन गर्दाको समय कटनको गलबन्दीले मुख बेरेका थिए। उनले त्यसलाई सम्बोधन गर्ने क्रममा निकालेका थिए।
मोदीको तेश्रो सिद्धान्तमा 'आयुर्वेद, योग र प्राकृतिक चिकित्सक, युनानी, सिद्ध र होमियोपैथी (आयुष) मन्त्रालय' ले दिएको निर्देशन पालना गर्नुपर्ने बताएका थिए। यस अन्तर्गत व्यक्तिको रोगप्रति प्रतिरोधात्मक क्षमता बढाउने केही निर्देशनहरु छन्। यसमा योगा गर्ने, उमालेको पानी खाने, कम्तीमा ३० मिनेट ध्यान गर्ने र खाना बनाउँदा बेसार, जिरा, धनियाँ, लसुनको पर्याप्त प्रयोग गर्ने लगायतका सुझावहरू छन्।
आयुष मन्त्रालयले रोगप्रति प्रतिरोधात्मक क्षमता बढाउने निर्देशनमा च्वनप्रास, हर्बल चिया खाने, तुलसी, मरिज, दालचिनी, अधुवा र किशमिशको झोल बनाएर खाने, बेसार–दुध खाने, नरिवल र तिलको तेल नाकमा लगाउने र सुख्खा खोकी लाग्ना साथ बाफ लिने जस्ता केही निर्देशनहरू छन्।
यस्तै चौथो सिद्धान्तमा प्रधानमन्त्रीले ‘आरोग्ज्ञा सेतु एप’ डाउनलोड गर्न सुल्झाएका छन्। यसको मार्फत कोरोना संक्रमित व्यक्तिलाई पछ्याउन सजिलो हुन्छ।
पाँचौ सिद्धान्तमा प्रधानमन्त्रीले गरिब र असहायलाई खाना र बस्नमा मद्दत गर्न आग्रह गरेका छन्।
छैठौंमा प्रभानमन्त्रीले उद्योग व्यवसायमा आर्थिक एवं अन्य प्रकारको क्षति आएको भए पनि कामदारलाई कामबाट टाढै राख्न र उनीहरुलाई तलबी खर्च दिन भनेका छन्।
अन्ततः सातौ सिद्धान्तमा प्रधानमन्त्रीले कोरोना भाइरस रोकथामका लागि दिनरात खटिरहेका चिकित्सा, डाक्टर, स्वास्थकर्मी, सरसफाइमा लागेका कर्मचारी र प्रहरी प्रति सम्मान व्यक्त गर्न आग्रह गरेका छन्।