तेलंगना प्रहरीले सोमबार ९ जना कामदारको मृत्यु रहस्य सुल्झाइएको छ।
गत शुक्रबार एकै परिवारका ६ सदस्य सहित ९ जनाको शव वारङ्गल शहरको बाहिरी क्षेत्रको एक इनारबाट बरामद भएको थियो।
अनुसन्धानपछि सोमबार तेलंगना प्रहरीद्वारा घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
हत्यारा बिहारका २४ बर्षीय संजय कुमार यादव भएको प्रहरीले जनाएको छ।
वारङ्गलका पुलिस कमिस्नर विश्वनाथ रविन्दरका अनुसार ती ९ जना कामदारको हत्या भएको हो। सँगैका अर्का कामदार साथीले उनीहरुको हत्या गरेको पुष्टि भएको छ।
पुलिसले ९ जनाको शव वारङ्गलको बाहिरी भागमा पर्ने गोरेकुन्टा गाउँको इनारबाट बरामद गरेको छ।
मारिनेमध्ये पश्चिम बंगालका एमडी मक्सुद (५५), उनकी श्रीमती, दुई छोराछोरी र उनको तीन वर्षे छोरा एकै परिवारका हुन्। उनीहरु बाहेक थप तीन जना हत्या भएको थियो।
सबैजना एकै निर्माण इकाईमा काम गरिरहेका थिए। मार्चमा लकडाउन घोषणा भएदेखि उनीहरु कम्पनी परिसरमै बसिरहेका थिए।
एकैचोटी मृत फेला परेका हुनाले पुलिसले सुरुमा उनीहरुले सामुहिक आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको थियो। आर्थिक संकट वा अन्य पारिवारिक समस्याका कारण सामुहिक आत्महत्या गरेको आशंका गरिएको थियो।
मक्सुदकी छोरी र उनको श्रीमानले गत वर्ष मात्रै सम्बन्ध विच्छेद गरेका थिए। छोरीका श्रीमान विहारका हुन्।
'घटनास्थलमा उपलब्ध प्रमाणहरू हेर्दा, सीसीटीभी क्यामेरा र पोस्टमार्टमका रिपोर्टहरु हेरेपछि संजय कुमार यादवले उनीहरुको हत्या गरेको पुष्टि भएको हो। संजय ६ वर्ष पहिले विहारबाट आएका थिए र सँगै एकै कारखानामा काम गरिरहेका थिए' कमिस्नर रविन्दरले भने।
पुलिस कमिस्नर रविन्दरका अनुसार संजयको मक्सुदकी बहिनी रफिकासँग अवैध सम्बन्ध थियो। मक्सुदकी बहिनीले पनि सम्बन्ध बिच्छेद गरेकी थिइन्। उनी मक्सुदलाई भेट्न पश्चिम बंगालबाट आएकी थिइन् र उनीहरूसँगै बसिरहेकी थिइन्।
'रफिका आफ्नो तीन बच्चाहरूसहित पछि संजयसँग छुट्टै बस्न थालिन्। तर उनले पछि यादवले उनकी किशोरी छोरीलाई पनि फन्दामा पारेको पत्ता लगाइन्।
त्यसपछि उनले यो धोका सहन सकिनिन् र संजयलाई सबैसामु ल्याउने धम्की दिएको रविन्दरले बताए।
यसपछि संजयले रफिकालाई मार्ने षडयंत्र गरे। उनीसँग विवाह गर्ने वाचा गरे।
मार्च ६ मा उनी रफिकासँग पश्चिम बंगालको लागि प्रस्थान गरे।
यात्रा क्रममा संजयले रफिकालाई बटरमिल्कमा बेहोस हुने औषधि मिसाएर खुवाए। पछि उनले ओढिरहेकी सलले रफीकाको घाँटी बेरेर मारिदिए। त्यसपछि यादवले रफिकाको शवलाई ट्रेनबाटै निद्रोबोलु भन्ने स्थानमा फालिदिए।
घटनापछि संजय राजामुन्ड्रीमा ओर्ले र चुपचाप वारङ्गलमा फर्के।
केही दिन पछि मक्सुदले बहिनी रफिकाबारे सोधखोज गरे। संजयले उनी पश्चिम बंगालमा आफ्नो परिवारसँगै बसेको बताए।
झन्डै दुई महिना पछि पनि रफिकाको परिवारका सदस्यबाट केही खबर आएन, मक्सुदले यादवमाथि शंका गर्दै सोधपुछ गर्न थाले। उनले पुलिसलाई उजुरी गर्ने धम्की समेत दिए।
त्यही धम्कीको डरमा यादवले मक्सुदको सबै परिवारलाई मार्ने निर्णय गरे।
संजयले नजिकैको औषधि पसलबाट निन्द्राको गोली किने। मे २० मा मक्सुदको छोराको जन्मदिनमा उपस्थिति जनाए। अनि उनले खानामा निन्द्राको औषधि मिसाइदिए।
'सबै बेहोस भएपछि यादवले उनले सबै ९ जनालाई एक पछि अर्को गर्दै इनारमा लगेर फालिदिए। राति साढेँ १२ बजेदेखि बिहान ५ बजेसम्ममा उनले सबैलाई इनारमा फालिदिए', कमिस्नर रविन्दरले भने।
सिसिटिभी लगायतका प्रमाणहरुका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो।
'सोधपुछ क्रममा संजयले अपराध गरेको स्वीकार गरेका छन्', प्रहरी कमिस्नरले भने।