भारतीय जनता पार्टीले आगामी राष्ट्रपतीय निर्वाचनमा बिहारका गभर्नर रामनाथ कोभिन्दलाई उम्मेदवार बनाउने भएको छ। कोभिन्दले चुनाव जिते उनी भारतमा केआर नारायण पछिका दोश्रो दलित राष्ट्रपति हुनेछन्।
आज भाजपा संसदीय दलको बैठकपछि उक्त पार्टी प्रमुख अमित शाहले कोभिन्दलाई राष्ट्रपति पदका लागि उम्मेदवार छानेको घोषणा गरेका हुन्।
कोभिन्दले आगामी जुन २३ मा उम्मेदवारी दिनेछन्।
कानपुर देहातमा सन् १९४५ मा जन्मिएका कोभिन्दले कानपुर विश्वविद्यालयमा कानुन अध्ययन गरेका छन्। कोभिन्दले दिल्ली उच्च अदालत र सर्वोच्च अदालतमा १५ वर्षसम्म अधिवक्ताका रुपमा काम गरेका थिए।
उनी सन् २०१५ मा बिहारका ३६ औं गभर्नरमा नियुक्त भएका थिए।
उनी भाजपाको दलित मोर्चा प्रमुख थिए र पार्टीको प्रवक्ताका रुपमा पनि काम गरेका थिए।