भारत सरकारले गर्भवती महिलाहरुलाई माछा, मासु, अन्डा र कामोत्तेजक विचारबाट मुक्त रहन सुझाव दिएको छ। गर्भवतीहरुका लागि सरकारले एक हातेपुस्तक निकाल्दै उक्त सुझाव दिएको हो।
भारतीय चिकित्सकहरुले भने 'हिन्दु धार्मिक आस्थाका आधारमा सरकारले जारी गरेको यस्तो रुढीवादी सुझावले भारतीय आमाहरुको जीवन जोखिममा पर्ने सक्ने' भन्दै चिन्ता व्यक्त गरेका छन्।
पश्चिमी मिडियाले पनि भारतीय सरकारको निर्णय हास्यास्पद भन्दै खिल्ली उडाएका छन्।
प्रशस्त प्रोटिन पाइने मासु र अन्डा गर्भवती महिला तथा बच्चाका लागि लाभदायक हुने विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएको छ। आधुनिक चिकित्सा विज्ञानले त गर्भवती महिलालाई सुरक्षित यौनसम्पर्क गर्न पनि अनुमति दिएको छ।
भारत विश्वकै उच्च मातृ मृत्युदर भएको देश हो। भारतीय महिलामा कुपोषण, एनिमिया (रगतको कमी) र आइरनको कमी भएको अनुसन्धानले देखाएको छ। यही कारणले सरकारको निर्णयप्रति भारतीय चिकित्सकहरुले आपत्ति जनाएका हुन्।
सन् २०१५ को तथ्यांकअनुसार प्रत्येक एक लाख भारतीय आमामध्ये बच्चा जन्माउने क्रममा १ सय ७४ जनाको मृत्यु हुने गरेको छ। सन् २०१० मा त्यो मातृत्व अझै उच्च थियो। चीनमा उक्त संख्या २७ र अमेरिकामा १४ छ।
भारत सरकारले हालै जारी गरेको ‘मदर एन्ड चाइल्ड केयर’ नामक हाते पुस्तकमा गर्भवती महिलालाई मासु, अन्डा र कामोत्तेजक विचारबाट टाढा रहन भनेको हो। ‘पोषणयुक्त, उच्च प्रोटिन भएको खानेकुरा आवश्यक पर्छ भन्नुको साटो भारतीय सरकारले अवैज्ञानिक र मूर्ख सुझाव दिँदैछ,’ स्त्रीरोग विशेषज्ञ अरुण गद्रेले भनेका छन्।
भारत सरकारले गर्भवती महिलालाई ‘अशुद्ध विचार’ मनमा नखेलाउन र सुन्दर बच्चाको तस्बिर हेर्न समेत भनेको छ। त्यसले गर्भमा रहेको बच्चामा सकारात्मक प्रभाव पर्ने सरकारको धारणा छ।
‘गर्भवती महिलाले इच्छा, मोह, क्रोध, घृणा र काम-वासनाबाट टाढा रहनुपर्छ,’ हाते पुस्तकमा लेखिएको छ।
भारतीय मन्त्री श्रीपद नायकले भने उक्त हाते पुस्तकलाई ‘शताब्दियौं देखि जम्मा भएको ज्ञानको संगालो’ भन्दै प्रतिरक्षा गरेका छन्।
नायकका अनुसार उक्त हाते पुस्तकले गर्भवती महिलाले यौनसम्पर्क राख्न हुन्न भनेको छैन, बरु उनीहरुले मनमा कामोत्तेजक विचार आउन दिनुहुन्न भनेको छ।