यो जुन महिनामा काश्मीरमा ४२ जनाको मृत्यु भएको छ। काश्मीरको भूमिमा ४२ जनाको मृत्यु हुँदा मुस्लिम समुदायको ठूलो पर्व रमजान चलिरहेको थियो। नौ प्रहरी, २७ आतंकवादी र ६ जना सर्वसाधारण मारिएसँगै काश्मीरको यसवर्षको रमजानले अहिलेसम्मै हिंस्रक रमजानको रूप लिएको छ।
सुरक्षा फौज र हतियारधारी समूहबीच फरक-फरक दिनमा भएका भिडन्तमा मृत्यु बेहोरेको काश्मीरको रमजान शुक्रबार झनै पीडादायी बन्यो। शुक्रबार श्रीनगर नजिकैको एक मस्जिद बाहिर आक्रोशित भीडद्वारा ड्यूटीमा खटिएका डिएसपी मोहम्मद अयूब पण्डितको हत्या भएको थियो।
टाइम्स अफ इन्डियाका अनुसार यसले तल्लो तहका सुरक्षा बलहरूमा भय पैदा गरेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। भीडले कुटेर एक प्रहरीको हत्या भएको कुराको सर्वत्र निन्दा भइरहेको छ। तर, प्रहरीका विरूद्धमा दन्किएको नागरिकको रिस शान्त गर्न मुस्किल भएको सुरक्षा बलको भनाइ छ।
प्रहरी भएकै कारण मानिसहरू आफूहरूको पछाडि हात धोएर लागेको र सुरक्षा जोखिममा परेको उक्त अधिकारीले बताएका छन्।
प्रहरीका अनुसार डिएसपी पण्डितको हत्यामा तीन जनाको भूमिका छ। हालसम्म दुई जना पक्राउ परिसकेका छन् भने एकको खोजी भइरहेको छ।