काश्मीरको पर्यटकीय सहर गुलमार्गमा आइतबार भएको केबलकार दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
चलिरहेको केबुलकार रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको र करिब ३० मिटर तल भूँइमा खसेको प्रहरीले जनाएका छन्। मृत्यु हुनेमा दुई बालबालिका पनि छन्।
समाचारमाध्यमका अनुसार तेज हावाका कारण बिग्रिएका केबलकारको मर्मतमा काम भइरहेको र अरू १५ केबलकारमा भएका मानिसहरूको सुरक्षित अवतरणका लागि प्रयासरत रहेको प्रहरीको भनाइ छ।
गुलमार्गका केबलकार विश्वकै अग्लामध्ये मानिन्छन्। यिनीहरूको उचाइ ४१०० मिटरसम्म छ।
पूर्व मुख्यमन्त्री ओमर अबदुल्लाहले दुर्घटना लगत्तै एक ट्वीट गर्दै यसलाई लापरवाहीको संज्ञा दिएका छन्। हावाको वहाव धेरै भएकाबेला केबलकार चलाउनेबारे सम्बन्धित अधिकारीले ध्यान नदिएको उनको भनाइ छ।