आन्दोलनका पछिल्ला दिनमा तुलनात्मक रूपले शान्त बनेको दार्जिलिङमा पु:न हिंसा भड्कन थालेपछि त्यहाँका महत्वपूर्ण भौतिक संरचनालाई भारतीय सेनाले आफ्नो नियन्त्रणमा लिएको छ। दार्जिलिङ बजारदेखि १५० किलोमिटर दुरीमा रहेको राममाम विद्युत आयोजनालाई सेनाले नियन्त्रणमा लिएको छ।
यसअघि नै दार्जिलिङ आन्दोलन दमन गर्न सेना परिचालन गरिए पनि आजदेखि महत्वपूर्ण भौतिक संरचना नियन्त्रमा लिन सेना खटाइएको छ।
यसैबीच दार्जिलिङ आन्दोलनकारीले खस जाति विकास बोर्डका अध्यक्ष राजेन घेटवालको घरमा आगजनी गरेको भारतीय संचार माध्यमले जनाएका छन्।
गत साता गोर्खाल्याण्ड आन्दोलन विरोधी बंगाल सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा उनले भाग लिएका थिए।
ममता बेनर्जी नेतृत्वको बंगाल सरकारले नेपाली भाषी बिचको एकता टुटाउन विभिन्न जातीय बोर्ड गठन गरेको छ। यस्ता बोर्डलाई बङ्गाल सरकारले गोर्खाल्याण्ड आन्दोलन विरुद्ध प्रयोग गर्ने गरेको छ।
घेटवालको घरमा आगजनी भएपछि बङ्गाल सरकारको महत्वपूर्ण व्यक्तिका लागि सुरक्षा व्यवस्था कडा पारेको छ।
आन्दोलन नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति पार्टीले भने आफ्ना कार्यकर्ता तथा समर्थक आगजनीमा संग्लग्न नरहेको बताएको छ। ‘हाम्रा मानिसको उक्त घटनामा कुनै हात छैन,’ मोर्चाका केन्द्रीय सदस्य टोपदेन भुटियाले भनेका छन्।
आफ्नो मागको सुनुवाई नभएको भन्दै मोर्चाका आन्दोलन अझै कडा पार्ने बताएको छ। टाइम्स अफ इन्डियाका अनुसार मोर्चाको युवा संगठनले भोक हड्ताल र आत्मदाह समेत गर्ने चेतावनी दिएको छ।
यसैगरी नेपाली भाषी सेवा निवृत्त भारतीय सैनिकले सरकारको रवैयाको विरोध गरेका छन्।
मुख्यमन्त्री बेनार्जिले दार्जिलिङ आन्दोलनलाई आतंकवादसँग जोडेको भन्दै उनीहरुले उक्त आरोप तुरन्तै फिर्ता लिनुपर्ने बताएका छन्।
भारतका उच्च सुरक्षा अधिकारीहरुले हिंसा भड्किएका स्थलहरु भ्रमण गरेका छन्।
झन्डै ५ हजार अवकाश प्राप्त भारतीय सेना र उनीहरुका आफन्तले ‘शान्ति’ र्यालीको आयोजना गरे लगत्तै उच्च सुरक्षा अधिकारीहरुले उक्त भ्रमण गरेका थिए।