अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विदेशी सरकार प्रमुखसँग हात मिलाउने शैलीका कारण चर्चामा आउने गरेका छन्। उनी अर्काको हात जोडले पकड्ने र झड्कार्ने गर्छन्।
तर असहज ढंगले हात मिलाउने र अंकमाल गरेर चर्चा बटुल्ने काममा ट्रम्पलाई पनि जित्ने अर्का सरकार प्रमुख छन्। उनी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।
गत वर्ष उनले भारत भ्रमणका क्रममा बेलायतका राजकुमार विलियमको हात कठोर ढंगले पकडेर चर्चा आएका थिए।
त्यसैकारण हिजो राति मोदी र ट्रम्पको ह्वाइट हाउसमा भेट हुँदा उनीहरुबीच कस्तो भौतिक सम्पर्क होला भनेर धेरैले चासो लिएका थिए।
त्यसको कारण हात मिलाउने वा आलिंगन गर्ने कार्यमा दुवैले निर्माण गर्ने असहज परिस्थिति थियो।
अंकमालका लागि ट्रम्पभन्दा मोदी अत्यन्त धेरै उत्साही देखिए।
ह्वाइट हाउसमा संयुक्त विज्ञप्ति जारी गर्दा मोदीले ट्रम्पसँग हात मिलाउनुको सट्टा दुई पटक अंकमाल गरे। उनका दुवै हात ट्रम्पका ढाडमा पुग्यो। ट्रम्पले आफ्नो देब्रे हातले मोदीको पाखुरालाई हल्का छोएको देख्न सकिन्छ। उनको दाहिने हातलाई भने मोदीको शरीरबाट टाढै राखे। त्यसपछि मात्र उनीहरुले हात मिलाए।
आफनो भनाई राखिसक पछि मोदीले फेरि अर्को पटक ट्रम्पलाई अंकमाल गरे। ट्रम्प भन्दा होचा मोदीको टाउकोले ट्रम्पको काँध नजिक पुगेर विश्राम लियो। उक्त असहजअ अंकमाल तुरन्तै सामाजिक सञ्जालमा फैलियो।
ह्वाइट हाउसबाट छुट्टिने बेला मोदीले तेश्रो पटक अंकमाल गरे। ट्रम्पले मोदीको ढाड थपथपाएर उनलाई अंकमालबाट छुटाए र विदाई दिए।
यसअघि बेलायती राजकुमारसँग कठोर ढंगले हात मिलाएका कारण मात्र होइन जापानी राष्टपति सिनो अबे, पूर्व अमेरिकी विदेशमन्त्री जोन केरी, अस्ट्रेलियन प्रधानमन्त्री टोनी एबोट, फ्रेन्च राष्ट्रपति फ्रान्कोइस होलाण्ड लगायतका नेताहरुसँगको मोदीको भेटको भौतिक प्रतिक्रिया उत्तिकै चर्चित छन्।
सन् २०१४ मा फ्रेन्च राष्ट्रपति होलाण्डले भारत भ्रमण गर्दा उनले होलाण्डको कम्मरमा हात राखिदिए। त्यो पछाडिबाट गरिएको अंकमालका रुपमा मिडियामा चर्चित भयो।
सन् २०१५ मा जर्मनीमा भएको पत्रकार सम्मेलनमा जर्मन चान्सलर एंगेला मार्केलले मोदीसँग हात मिलाउन तर्किएको देखियो। मर्केल सायद मोदीको बानीबारे जानकार थिइन् र त्यसैकारण आ-आफ्नो देशको झण्डा अगाडि हात मिलाउन खोजेकी थिइन्।
अमेरिकाको सिलिकन भ्यालीमा मोदी र फेसबुक संस्थापक मार्क जुकरवर्गको भेट पनि चर्चामा रह्यो। उनले जुकरवर्गलाई आफूतिर तानेका थिए। आफू तस्बिर खिच्दा छेकिने डरले मोदीले जुकरवर्गलाई तानेको मानिसहरुको अनुमान छ।