चीनले सिक्किम क्षेत्रमा भारतीय सेनाले ‘सीमा पार’ गरेको भन्दै उनीहरुलाई यहाँबाट फिर्ता गर्न आग्रह गरेको छ ।
साथै, चीनले सीमा क्षेत्रमा देखिएको समस्या देखाउँदै कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि ‘नाथुला’ प्रवेशद्वार समेत बन्द गराएको छ।
सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रूपमा भारतीय सेनाले अतिक्रमण गरेको दाबी पनि चीनले गरेको छ। भारतसँग सिमानामा देखिएको समस्या विषयमा नयाँ दिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत चीनले जनाएको छ।
‘हामीले बेइजिङ र नयाँ दिल्लीमा औपचारिक रूपमा गम्भीर आपत्ति जनाएका छौँ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्ले सञ्चारकर्मीसँगको कुराकानीमा बताए।
उनले भने, ‘हाम्रो भौगोलिक सार्वभौमसत्तालाई जोगाउने अभियान अविचलित रूपमा अघि बढ्नेछ। हामी विश्वास गर्छौं, भारतीय पक्ष यस विषयमा सोहीअनुरुप अघि बढ्नेछ र तुरुन्तै चिनियाँ भूभागबाट सेनालाई फिर्ता लाग्नेछ ।’
चीनले सोमबार राति नै सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखी नाथुला प्रवेशमार्ग हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई भ्रमणमा प्रतिबन्ध लगाएको जनाएको थियो।
यसैबीच चिनियाँ विदेश मन्त्रालयका गेङ सुवाङले मङ्गलबार एक विज्ञप्ति जारी गरी भारतीय सुरक्षा गार्डलाई तुरुन्त फिर्ता गरी के-कति कारणले सीमा अतिक्रमण गरिएको हो अनुसन्धान सुरु गर्न आग्रह गरेको बताएका छन् । रासस/पीटीआई