भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपालको सीमानामा उच्चस्तरको जासुसी संयन्त्र परिचालन गर्ने भएको छ। एसएसबीको यस्तो प्रस्तावलाई भारत सरकारले स्वीकृत गरेपछि अब उसँगै पूर्ण क्षमताको जासुसी संयन्त्र पनि नेपालका सीमानामा खटिनेछन्।
भारतीय समाचारमाध्यम टाइम्स अफ इण्डियाले शुक्रबार छापेको समाचारमा भारतले उत्तरवर्ती छिमेकी नेपाल र भुटानमा यस्तो संयन्त्र परिचालन गर्ने निर्णय गरेको उल्लेखित छ।
यी दुवै मुलुकको सीमाना सुरक्षामा भारतले लामो समयदेखि एसएसबी परिचालन गर्दैआएको छ। पछिल्लो समय चीन र भुटानसँगको सीमावर्ती क्षेत्र दोक्लममा बढ्दो भारत–चीन तनावका समाचारहरु आइरहेकै बेला यो पछिल्लो जानकारी सार्वजनिक भएको हो।
दोक्लम भारतको उत्तरपूर्वी राज्यलाई बाँकी मुलुकसँग जोड्ने ‘चिकेन नेक’ क्षेत्र नजिकै पर्दछ। त्यहाँसम्म चीनले सडक विस्तार गर्न खोजेपछि भारतले भुटानको सरोकार अघि सारेर आफ्नो सेनालाई उक्त क्षेत्रमा अघि बढाउँदै आएको छ।
त्यो क्षेत्र नेपालको सीमानाबाट पनि नजिक भएकाले त्यहाँ बढ्नसक्ने तनावले हामी पनि प्रभावित हुने विश्लेषणहरु केही समययता चल्दै आएका छन्।
यस्तो अवस्थामा एसएसबीले पूर्ण क्षमताको जासुसी संयन्त्रसमेत नेपाल–भारत सीमामा परिचालन गर्ने समाचार शुक्रबार आएको हो।
टाइम्स अफ इन्डियाले अधिकारीहरुलाई उद्धत गर्दै यो कदमपछि सीमावर्ती भेगमा छ सय पचासवटा त्यस्ता प्रतिबद्ध जासुसी अड्डाहरु खडा हुने र त्यसले एसएसबीको परिचालन क्षमता अझ बलियो बनाउने बताएको छ।
अहिलेसम्म एसएसबीले नै सुरक्षा प्रदान गर्दैआएकोमा दुवै मुलुकका नागरिक निर्वाधरुपले आवतजावत गर्दै आएका थिए। तर, जासुसी संयन्त्रसहितको सुरुक्षा व्यवस्थामा अबको अवस्था के हुनेछ भन्नेबारे समाचारमा उल्लेख छैन।
समाचारमा उल्लेख भएअनुसार अविकसित र भौगोलिक अवस्थाका कारण यहाँ जासुसी संयन्त्र राख्नुपरेको जानकारीअधिकारीहरुले दिएका छन्। पहाडी र समथर दुवैथरी भुगोल भएको यो सीमावर्ती भेगमा बाक्लो मानववस्तीे र कतैकतै घना जंगल छ। सीमाका दुवै भागका बासिन्दाबीच बलियो धार्मिक, साँस्कृतिक र आर्थिक सम्बन्ध हुँदाहुँदै पनि अधिकांश भेग अविकसित भएकाले एसएसबीलाई बलियो जासुसी संयन्त्र अत्यावश्यक भएको उनीहरुको भनाइ छ।
‘आवतजावतका लागि भिसा नचाहिने यस भेगमा सीमापार आपराधिक गतिविधि र राष्ट्रहित विरोधी तत्वहरु ठूलै चुनौतिका रुपमा सक्रिय छन्,’ एसएसबीका जनसम्पर्क अधिकृत मनोज केशव भन्छन्, ‘यस भेगमा आइएसआइ गतिविधि, भारतीय विद्रोही समूह, बामपन्थी अतिवादी, जडसुत्रवादी, हातहतियारदेखि लागूऔषध हुँदै नक्कली भारतीय नोटका तस्करहरु र मानव ओसारपसारमा संलग्नहरु रहँदै आएकामा थप भारतविरोधी थप समूह पनि सलबलाएर भारतीय भूमिमा समस्या पैदा गर्न थालेका छन्।’
उनका अनुसार यी समस्याको समाधान गर्न विस्तृत सीमाना व्यवस्थापन जरुरी भइरहेको बेलामा जासुसी संयन्त्रले त्यसमा सघाउ पुर्याउने छ।
‘उच्च क्षमताको जासुसी नेटवर्कलाई यस भेगमा राम्रोसँग बुनेर परिचालित गर्ने हो भने विस्तृत सीमाना व्यवस्थापनको आधारभूत आवश्यकतालाई त्यसले सम्बोधन गर्न सक्नेछ,’ उनले भनेका छन्, ‘एसएसबीलाई यसरी जासुसी संयन्त्रको आधारमा परिचालित गर्ने हो भने अपराधी र तस्करहरुलाई नेपाल र भुटानजस्ता मैत्री सीमा क्षेत्रको दुरुपयोगबाट रोक्न सकिन्छ।’
एसएसबीले यस्तै जासुसी संयन्त्रहरु जम्मु काश्मिर र अतिवादी बामपन्थी क्षेत्रमा पनि परिचालित गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ।