अलग राज्य हुनुपर्ने माग राख्दै दार्जिलिङमा सुरु भएको गोर्खाल्याण्ड आन्दोलन ३० औं दिनमा प्रवेश गरेको छ। आन्दोलनका क्रममा रेलवे सुरक्षा बल (आरपीएफ) कार्यालय, प्रहरी चौकी र पुस्तकालयमा आगलागी भइसकेको छ। इन्टरनेट बन्द भएको आज २७ दिन भएको छ।
आन्दोलनका बीच दार्जिलिङमा सुरक्षा प्रदान गर्न ११ कम्पनी पहिले नै तैनाथ थिए भने शुक्रबार अदालतले अरु चार कम्पनी थप्ने निर्णय गरेको छ।
दार्जिलिङ र कालिङपोङमा कानुन र सुरक्षा यथावत राख्ने उद्देश्यले पश्चिम बंगालमा यी कम्पनी ममता बेनर्जीको सरकारले परिचालन गर्ने गरी तैनाथ गरिएको हो।
केन्द्रीय सरकारले सर्वोच्च अदालतलाई शुक्रबार गोर्खाल्याण्ड आन्दोलनका क्रममा सुरक्षा बढाउन र आवश्यक सामग्री उपलब्ध गराउन भनेर थप चारवटा सुरक्षा बल कम्पनी पठाउने निर्णय गरेको जानकारी दिएको हो।
अदालतले केन्द्रीय र पश्चिम बंगाल सरकारलाई आन्दोलनरत क्षेत्रमा शान्ति कायम गर्न सबै कामकार्यवाही गर्न पनि निर्देशन दिएको छ।