राष्ट्रिय स्वयंसेवक संघ, भारतका स्वामीनाथन गुरुमूर्तिले प्रधानमन्त्री नरेन्द्र मोदी र तमिल अभिनेता रजनीकान्तले साथ काम गरेमा तमिलनाडुको राजनीति पूर्णरुपमा बद्लिने बताएका छन्। भाजपाको मातृसंस्थाका रुपमा परिचित राष्ट्रिय स्वयंसेवक संघ (रासस)का विचारक गुरुमूर्तिलाई तमिलनाडु राजनीतिका विज्ञ मानिन्छ।
भारतीय समाचारमाध्यममा उल्लेख भएअनुसार उनले एक अन्तर्वातामा जयललितापछि तमिलनाडुको राजनीतिका लागि रजनीकान्त उत्कृष्ट भएको बताएका हुन्।
उनले भनेका छन्, ‘मलाई लाग्छ रजनीकान्तले आफ्नै राजनीतिक दल बनाउँछन्। जयललिताको निधनपछि यहाँको राजनीति खाली भएको छ। यो खालीपन भर्न रजनीकान्त उपयुक्त छन्।’
भाजपाले रजनीकान्तलाई समर्थन दिने विषयमा गुरुमूर्तिले भनेका छन्, ‘रजनीकान्तलाई आफ्ना कमजोरीहरुको ज्ञात होला भन्ने मलाई लाग्छ। नरेन्द्र मोदी र उनलाई साथ देख्नु एकदमै शानदार हुन्छ। यसले तमिलनाडु राजनीतिको अनुहार नै फेरिनेछ।’
तमिलनाडुका जनता डिएमके र एआइडिएमके पार्टीबाट दिक्क भइसकेका कारण रजनीकान्त त्यहाँ तेस्रो बलियो पार्टीका रुपमा उदाउने गुरुमूर्तिको भनाइ छ।
उनले आफू रजनीकान्त र भाजपाबीचको नभएपनि उनीहरु दुई मिले भने एकअर्काका सबल पक्ष अगाडि बढाउँदै कमजोरी हटाउनेमा आफू विश्वस्त रहेको बताएका छन्।
गुरुमूर्तिले विगतमा रजनीकान्त राजनीतिमा आउन नचाहेपनि राजनीतिको खस्कँदो अवस्था देखेर मात्र आउन लागेको टिप्पणी गरेका थिए।