भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेपनि ती शिशु रोएको गाउँलेले सुनेपछि जिवितै खाल्डोबाट निकालिएको छ ।
खाल्डोमा पुरेर छोडेको कैयौँ घन्टापछि पनि ती शिशु जिवितै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ ।
एक १६ वर्षिया युवती बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन् ।
अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एक हप्तापछि घरभन्दा केही परको चौरमा उनलाई गाडेको अवस्थामा गाउँलेले भेटेका थिए ।
उनले त्यस शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउका महिला हिँडिरहेको बेला बच्चा रोएको आवाज सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउँले बताउँछन् ।
त्यसपछि उक्त शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र शरीर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुँदै गएको छ ।’
गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन ।
ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउकै एक १७ वर्षीय युवकबाट बलात्कृत भएर सो बच्चा जन्मिएको बताएकी छिन् ।
प्रहरीले ती युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । युवकले आफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरेपनि बच्चा भने नस्वीकारेको जानकारी प्रहरीलाई गराएका थिए ।
ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएको तर उसले आफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामु गराएका छन् ।
भारतमा १८ वर्षभन्दा कम उमेरमा गरिने यौन सम्पर्कलाई बलात्कारका रुपमा लिने कानुनी प्रावधान छ । भारतका गाँउ गाँउमा बलात्कारका घटना निकै बढ्ने गरेको छ ।
भारतको सरकारी तथ्याङ्कमा सन् २०१५ मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए ।
बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानुनी व्यवस्था गरिएको भए पनि यस्ता दुर्व्यवहारमा कमी आउन सकिरहेको छैन । रासस/एएफपी