भारतको गोरखपुर जिल्लास्थित बिआरडी मेडिकल कलेजमा ४८ घण्टामा २० जना बालबालिकाको मृत्यु भएको समाचार छ।
अस्पतालमा अक्सिजनको आपूर्ति बन्द भएका कारण ती बालबालिकाको मृत्यु भएको समाचार एजेन्सी पिटीआइलाई उदृत गर्दै बिबिसिले जनाएको छ।
उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको कमीले बिरामीको मृत्यु भएको खबर भ्रामक भएको ट्वीट गरेको छ।यूपी सरकारको आधिकारिक ट्वीटमा भनिएको छ, 'गोरखपुरको बिआरडी मेडिकल कलेजमा अक्सिजन कमीले कुनै बिरामीको मृत्यु भएको छैन।'
यसपछि अर्को ट्वीटमा भनिएको छ, 'केही च्यानलमा आएको अक्सिजन आपूर्ति कम भएर पछिल्ला केही घण्टामा अस्पतालमा भर्ना भएका थुप्रै बिरामीको मृत्यु भएको खबर झुटो हो। जिल्ला अधिकारीहरु अस्पतालमै रहेर स्थिति अनुगमन गरिरहेका छन्।'
यसअघि गोरखपुरकै मुख्य चिकित्सा अधिकारी डाक्टर रवीन्द्र कुमारले करिब २० जना बालबालिकाको मृत्यु भए पनि अक्सिजन आपूर्ति बन्द हुनु यसको कारण नभएको बताएका छन्।
अस्पतालको यो वार्डमा बर्सेनि इन्सेफलाइटिसका हजारौं बिरामी भर्ना हुन्छन्। त्यसमा अधिकांश बालबालिका हुने गरेका छन्।
नाम नखुलाउने शर्तमा अस्पतालकै एक डाक्टरले उक्त वार्डमा सामान्यतया दैनिक ८-१० बालबालिकाको मृत्यु हुने बताएका बिबिसिमा उल्लेख छ।
डाक्टर रवीन्द्र कुमारका अनुसार नवजात शिशु वार्डमा १४ र इन्सेफलाइटिस वार्डमा ४ बालबालिकाको मृत्यु भएको हो। उनले भनेका छन्, 'नवजात शिशु वार्डमा एकदेखि चारदिनका शिशु गम्भीर अवस्थामा भर्ना हुन्छन्। उनीहरुको मृत्यु दर धेरै हुन्छ। यसलाई अक्सिजन आपूर्तिसँग जोड्न हुँदैन र यो कहिल्यै भएको पनि छैन।'
डिएम रौतेलले भने मिडियासँग कुरा गर्दै अस्पतालमा अक्सिजन आपूर्ति गर्ने एजेन्सीले करिब ७० लाख रुपैयाँ (भारु) बक्यौता भएकाले आपूर्ति बन्द गरिदिने चेतावनी दिएको बताएका छन्।
यसबारे अस्पताल प्रशासनले कसैलाई जानकारी नदिएको उनको भनाइ छ। स्थानीय बासिन्दा र बिरामीका परिवार तथा आफन्तले भने मृत्यु हुनेको संख्या अझै धेरै हुनसक्ने बताएका छन्।