भारतको गोरखपुरस्थित बाबा राघव दास (बिआरडी) मेडिकल कलेजमा ६३ जना बालबालिकाको मृत्यु भएको छ। यो घटनाले गोरखपुर तनावग्रस्त बनेको छ।
अक्सिजनको आपूर्ति बन्द भएका कारण ती बालबालिकाको मृत्यु भएको आरोप अस्पतालमाथि छ।
उत्तर प्रदेश सरकार र मुख्यमन्त्री योगी आदित्यनाथले भने अस्पतालमा अक्सिजनको कमीले बिरामीको मृत्यु भएको खबर भ्रामक बताएका छन्। मुख्यमन्त्री आदित्यनाथले आफ्नो क्षेत्रमा ती बालबालिकाको मृत्यु फोहोर वातारवरण र यसले फैलाएका इन्सेफलाइटिस जस्ता रोगका कारण भएको बताएका छन्।
भारतीय समाचारमाध्यमअनुसार अस्पताल अधिकारीहरूले अक्सिजन आपूर्ति बन्द भएकाले बालबालिकाको मृत्यु नभएको दावी गरेका छन्। तर, करिब ७० लाख रुपैयाँ (भारु) बक्यौता भएकाले अस्पतालमा अक्सिजन आपूर्ति गर्ने एजेन्सीले बन्द गरिदिने चेतावनी दिएको बताइएको छ। यसबारे प्रशासनले कसैलाई जानकारी नदिएको अस्पतालका एक कर्मचारीले बताएका छन्।
अस्पतालको यो वार्डमा बर्सेनि हजारौं इन्सेफलाइटिसका बिरामी भर्ना हुन्छन्। त्यसमा अधिकांश बालबालिका हुने गरेका छन्। नवजात शिशु र बालबालिका वार्डमा मात्रै सामान्यतया दैनिक ८-१० बालबालिकाको मृत्यु हुने अस्पतालका एक डाक्टरले बताएका छन्।
३० वर्षदेखि गोरखपुरमा बालबालिकाको मृत्युदर लगातार बढ्दो रहेको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्।