शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई भारतीय अदालतले बलात्कार दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेको थियो। आज सोमबार उनको सजाय सुनाइनेछ।
अदालतको फैसलालगत्तै उनका समर्थकले गरेको प्रदर्शनका क्रममा ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। त्यस्तै, ५० जना प्रहरी तथा सुरक्षाकर्मी र अन्य २ सयभन्दा बढी घाइते भएका छन्।
सिंहका हजारौं समर्थकले फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी साधनहरु, भवनहरु लगायतमा तोडफोडका साथै आगजनी समेत गरे।
‘रक स्टार बाबा’ नामले चिनिने रहिमबारे अहिले भारतका अर्का बाबा रामदेवले बयान दिएका छन्। उनले रहिमबारे बोल्दै कानुन हातमा लिने अधिकार कसैलाई पनि नभएको बताएका छन्। रामदेवले आफूमाथि पनि धेरै मुद्दा परेको भए पनि रहिमका समर्थकको जस्तो प्रतिक्रिया आफ्नाले नदिएको बताए।
भारतीय समाचारमाध्यमहरूसँग कुरा गर्दै उनले भनेका छन्, 'मेराविरूद्ध पनि कति धेरै मुद्दा छन्। तर, मेरा समर्थकले हिंसा कहिल्यै गरेनन्। कानुन हातमा लिने अधिकार कसैलाई छैन।'
उनले आफ्नो देशमा हिंसा सहन नसकिने पनि बताएका भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्।
रहिम हाल जेलमा छन्।