भारतको रोतहक जिल्ला कारगारमा भर्खरै नयाँ व्यक्ति कैद भए, कैदी नम्बर ८६४७। नयाँ कैदी अरु कोही नभएर स्वघोषित गुरु गुर्मित राम रहिम सिंह हुन्।
बलात्कारमा दोषी ठहरिएका ‘डेरा सच्चा सौदा’ प्रमुख रहिमलाई २० वर्ष जेल सजाय भएको छ।
हरियाणाको पञ्चकुलास्थित भारतको केन्द्रीय जाँच ब्युरोको अदालतले दुई महिला बलात्कार गरेको ठहर गर्दै उनलाई १०–१० वर्ष जेल र १५–१५ लाख भारु जरिवाना गर्ने फैसला गरेको हो। जेल चलान भइसक्दा पनि उनको चर्चा भने अझै सेलाएको छैन।
लाखौंले समर्थन गर्ने बाबा रहिम हरियाणाको सिरसामा शान र ऐशआराममा जीवन बिताइरहेका थिए। विलासी रहिमको जेल जीवन कस्तो होला भन्ने धेरैको चासो बनेको छ। रोहतक सुनारीया जेलका सुपरिटेन्डेन्ट सुनील सांगवानले रहिमबारे जानकारी दिन मानेनन्। सुरक्षा मध्यनजर गर्दै उनीसँग सम्बन्धीत जानकारी गोप्य राखिने सांगवानले बताए।
यता, हरियाणाका अतिरिक्त गृहसचिव राम निवासले दिएको जानकारीअनुसार रहिमलाई जेलमा अन्य कैदी सरहकै सुविधा मात्र प्राप्त हुनेछ।
पत्रकार रवीन्दर सिंह रबिनले रहिमको दिनचर्याबारे जेलका श्रोतहरुबाट केही जानकारी पाएका छन्। जसअनुुसार रहिमको दिनचर्या यसरी व्याख्या गरिएको छ।
रहिम कपडाका शौखिन थिए। उनी अनेक किसिमका पहिरनमा देखिन्थे। उनका महँगा र ‘ब्रान्डेड’ पहिरन सधैं चर्चामा हुन्थे। उनी शाही पहिरन मनपराउँथे।
जेलमा भने उनी सामान्य कैदीको लुगा लगाएर बसेका छन्।
जेलको नियम अनुसार रहिमलाई बिहानै उठाइनेछ।
सबै कैदीले जेलमा काम गर्नुपर्ने हुन्छ। रहिमलाई दुईमध्ये एक काम छान्ने मौका दिइएको छ। उनी कि त माली बन्नु पर्नेछ या जेलमा संचालन हुने कारखानामा मजदुर।
सुरुमा रहिम काम गर्न मानिरहेका थिएनन्। जेल जीवनबारे त्यहीं उनलाई परामर्श दिइयो। त्यसपछि भने उनी काम गर्न राजी भएका थिए। उनले हालसम्म यही काम गर्छु भनेर रोजेका भने छैनन्।
राजसी भोजन गर्न रुचाउने रहिमलाई जेलमा सुख्खा रोटी र दाल दिइयो। उनले राति केही खाएनन्। दिउँसो पनि खान मानेनन्। जेलका कर्मचारीले खाना उनकै अगाडि छाडेर गए, पछि उनले त्यो खाना खाए।
खानापछि उनले केही बेर आराम गरे। अरु कोही कैदीसँग उनको भेट भएन। त्यहाँका कर्मचारीसँग पनि उनले खासै कुरा गरेनन्।
सधैं समर्थकको भिडमा घेरिने रहिम प्रहरीको निगरानीमा छन्। कलाकार, व्यापारी, राजनीतिज्ञहरुसँग भेटघाट गरिरहने उनले अब आफ्नै परिवारका सदस्य भेट्न पनि जेल प्रशासनको अनुमति लिन पर्नेछ। साताको एकपटक उनले आफ्नो परिवार भेट्न पाउनेछन्।
गत शुक्रबार अदालतले रहिमलाई दोषी ठहर्याएपछि उनका समर्थकले विरोध गरेका थिए। सोमबार जेलचलान भएपछि पनि विरोध जारी थियो। प्रदर्शन अवधिभर ३१ जनाभन्दा बढीको मृत्यु भयो भने २५० बढी घाइते भएका थिए।
को हुन् रहिम?५० वर्षिय रहिम राजस्थानको गंगानगरमा जन्मिएका थिए। गाउँकै स्कुलबाट उनले माध्यमिक तहको शिक्षा पूरा गरे। उनको घरमा पत्नी तीन छोरी र एक छोरा छन्।
२३ वर्षको उमेरमा उनी डेरा सच्चा सौदाको प्रमुख भएका थिए। ‘गैरनाफामुखी सामाजिक कल्याण र आध्यामिक संस्था’ भनिने देरा सच्चा सौदाका संसार भरि ४६ वटा केन्द्र छन् भने करिब छ करोड मानिस यसका अनुयायी छन्। सन् १९४८ मा शाह मस्तानाले यसको स्थापना गरेका थिए।
रहिम १९९० मा यसको प्रमुख भएका थिए। त्यसपछि संस्था र उनी बेलाबेलामा विवादमा आइरहन्थे।
सन् २००२ मा भारतको संघीय प्रहरीले रहिममाथि बलात्कार र हत्या आरोपमा छानबिन थालेको थियो।
‘रक स्टार बाबा’ नामले समेत चिनिने रहिम गीत गाउने, कन्सर्ट गर्ने, म्युजिक भिडियो र फिल्म समेत खेल्ने गर्थे।
सन् २००७ मा शिख गुरु गोविन्द सिंहको भेषमा एक विज्ञापनको भिडियोमा देखिएपछि उनको आलोचना भएको थियो। २०१५मा उनी एक भिडियोमा हिन्दू भगवान बिष्णुको अवतारमा देखिएपछि उनीविरुद्ध उजुरी परेको थियो। यो अवधिमा उनी दर्जनभन्दा बढी आरोपमा मुछिएका थिए।
उनको वेबसाइटमा आध्यात्मिक गुरु, समाजसेवी, गायक र खेलाडीका रूपमा परिचय दिइएको छ।
ठूलो मात्रामा समर्थक रहेका उनको डेरा सच्चा सौदा सत्तारुढ भारतीय जनता पार्टी र प्रतीपक्षी कांग्रेस आईले समेत सहयोग गर्दै आएका छन्।