सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ ।
जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो । १२ विधा र मास पपुलर ४ विधामामा दिइएको अवार्डमा 'म यस्तो गीत गाउँछु' उत्कृष्ट फिल्म घोषित हुँदा सोही फिल्मबाट पल शाह तथा पूजा शर्मा उत्कृष्ट अभिनेत्री घोषित भए।
दर्शकले दिएको भोटको आधारमा सो अवार्ड दिइएको आयोजकले जनाएका छन्। सोही फिल्मबाट सुदर्शन थापा उत्कृष्ट निर्देशक बने।
यस्तै सहअभिनेता तथा अभिनेत्रीतर्फको अवार्ड क्रमश: प्रशान्त ताम्राकार र वर्षा राउतले उचाले ।
समारोहमा भोटिङको आधारमा बाहेक मास पपुलरको आधारमा पनि ४ अवार्ड प्रदान गरेको थियो ।
गत वर्ष प्रदर्शनमा आएको फिल्महरुबाट रहने गरि नायक, नायिका, निर्देशक र फिल्म गरि ४ विधामा अवार्ड वितरण गरिएको थियो । जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा साम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र फिल्ममा 'छक्का पञ्जा २' लाई अवार्ड प्रदान गरियो ।
यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री वसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड-२०१८ ले सम्मान गरियो भने ३ दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशिल सदाबहार नायक भुवन केसीलाई 'सुर्य कलाकरिता सम्मान-२०१८' प्रदान गरिएको थियो ।
यसैगरी नागरिक दैनिकका संवाददाता सामिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित 'सुर्य चलचित्र पत्रकारिता-२०१८'को पुरस्कार दिइयो।
फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद '१५ हजार सहित पुरस्कृत गरियो ।
यसैगरी गीत-संगीत विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित हुँदा पपतर्फ कमल खत्री र गायिका इन्दिरा जोशी बाजी मारे ।
अवार्डमा आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई उत्कृष्ट गायक गायिका घोषित भए । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए ।
अवार्ड समारोहले नेपाली कला, संस्कृतिको संरक्षण तथा नेपाली फिल्म र गीत संगीतको प्रवर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् ।
अवार्ड समारोह पछि जापानमा निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारीमा आफूहरू लागिरहेको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।