अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन असोज १४ र १५ मा जापानको टोकियोमा हुने भएको छ। १५ वर्षअघि नेपालमा सुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए। सम्मेलनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयोजन गरेको छ।
सम्मेलनमा जापानका चर्चित हाइकु कविहरुले पनि नेपाली कविलाई साथ दिनेछन्। शिनओकुबो स्थित नेपाली मुरा हल (सोलमारी) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेलले जनाएका छन्।
‘कायक्रमको सम्पूर्ण तयारी भइसकेको छ। नेपालसहित बिभिन्न मुलुकका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं। त्यसमध्ये कतिपय जापान आइपुग्नु भएको छ।’ जापान बसेर नेपाली हाइकुलाई प्रवद्र्धन गरिरहेका कार्याक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले भने, ‘हाइकुको जन्मस्थल भएका नाताले यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो। नेपाली हाइकु लेखकलाई जापानी हाइकु लेखकसँग अनुभव आदान प्रदान गर्न पनि सम्मेलन जापानमा गर्न लागिएको हो।’
कार्यक्रम नेपाल हाइकु केन्द्र र अन्तर्रा्ष्ट्रिय नेपाल साहित्य समाजको संयुक्त ब्यानरमा हुनेछ।
‘जापानी हाइजिनहरुलाई नेपाली साहित्यकारको क्रियाशिलता र सक्रियता देखाउन पनि हामीले मेहेनत गरिरहेका छौं,’ अन्तर्राष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष दीप पाठकले भने, ‘यसले हामीलाई कार्यक्रम सिर्जनशिल बनाउन सहयोग गरेको छ।’
पछिल्लो समय नेपालमा हाइकु साहित्य फस्टाउँदो रुपमा छ। नेपाल हाइकु केन्द्रको नेतृत्त्व रामकुमार पाँडेले गरेका छन् भने हाइकुको जन्मथलो जापानमा बसेर प्रकाश पौडेल ’माइला’ ले अबिछिन्न काम गरी रहेका छन।
जापान सम्मेलनको क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिनेछ भने रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ ले अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यक्रमको मुख्य आकर्षणको रुपमा प्रसिद्ध जापानी हाइकु कविहरुको सहभागिता हुनेछ।
‘नेपाली र जापानी कविहरु बिचको सहकार्य शुरुवात भइसकेको छ। अनेसास जापानका संस्थापक अध्यक्ष कुमार बस्नेतले भन्छन्, ‘सम्मेलनले जापान–नेपाल साहित्यको बृद्धिमा ठूलो योगदान दिने देखिएको छ।’
सम्मेलनमा सहभागिता जनाउन नेपालबाट रामकुमार पाँडेको संयोजनमा अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल जापान पुगेका छन् भने बेलायतबाट कृष्ण बजगाईंको उपस्थिति हुनेछ।