नेपालका युवा किक बक्सिङ खेलाडी अबिरल घिमिरेले जापानिज किक बक्सर थातुयालाई पहिलो राउन्डमै नक आउट गर्दै उपाधि हात पारेका छन्।
लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका युवा खेलाडी घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन्।
उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो राउन्डको केही मिनेटमै तीन पटक हुक र पन्चले ढलाएका थिए। काठमाडौं चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई सहजै परास्त गर्दा उनका प्रशिक्षकमा खुसीको सीमा थिएन।
जितपछि निकै हर्षित मुद्रामा अविरलले भने, ‘जापानी भूमिमा चन्द्र, सूर्य अंकित झन्डा बोकेर मुलुकको नाम राख्न पाएकोमा गर्व लागेको छ।’
निकै प्रतिस्पर्धात्मक र टफ हुने भनिएको यो भिडन्त केही मिनेटमै सकिँदा दर्शकहरु भने खिन्न हुन पुगेका थिए।
अबिरल नेपालका चर्चित किक बक्सिङ खेलाडी देव घिमिरेका छोरा हुन् । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै बुवा देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन्।
प्रशिक्षक तथा बुवा देबले अविरलको उमेर र अनुभव कम भए पनि अन्तर्राष्ट्रिय अनुभव बटुलेका व्यवसायिक खेलाडीलाई हराउनु महत्वपुर्ण घटनाक्रम रहेको बताए।
आइतबारको चर्चित हिट ४७ नाम दिइएको भिडन्त जापानको टोकियोस्थित टोकियो टावरमा संचालन भएको थियो।