जापानी राजकुमारीले आफ्ना प्रेमीसँग विवाह गर्न राजपरिवारको सदस्यता त्याग्ने भएकी छन्।
सोमबार राजकुमारी माकोले आफूले सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी हुन्। कोमुरोसँग विवाह लगत्तै माकोले ‘राजकुमारी’ को उपाधि त्याग्नु पर्ने हुन्छ।
राजपरिवारको सहमति पश्चात राजपरिवार बाहिरका कानुनी फर्म संचालक कोमुरोसँग माकोको विवाह हुने भएको हो।
गत जुलाइ महिनामै उनीहरुको विवाह घोषणा हुने भनिए पनि जापानमा अविरल वर्षाका कारण प्रकोप सिर्जना भए पछि स्थगित गरिएको थियो।
जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र पुरुषलाई भेदभावपूर्ण नियम छ। महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषले पर्दैन।
यसै कानुनमा रहेर माकोले आफ्नो उपाधि त्याग्दै कुमुरोसँग विवाह घोषणा गरेकी हुन्।
माको र कोमुरो दुवै २५ वर्षका छन्। पाँच वर्षअघि उनीहरुको विश्वविद्यालयमा भेट भएको थियो।
कोमुरोसँग पहिलो भेटमै आकर्षित भएको भन्दै माकोले भनेकी छन्, ‘उनी सूर्य जस्तै मुस्काउँछन्, चम्किला।’
कोमुरो पनि राजकुमारी माकोलाई हेर्दै भन्छन्, ‘उनलाई म चन्द्रमा जस्तो हेरिरहन्थें, हेरिरहन्छु।’
‘मलाई सानैदेखि थाहा थियो, मैले गैर राजकीय व्यक्तिसँग विहे गरें भने उपाधि गुमाउँछु।’ विवाहको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै माकोले भनेकी छन्, ‘यी सबै छाडेर म विवाह गर्दैछु।’
राजकुमारी माको राजकुमार फुमिहितोकी जेठो सन्तान हुन्। विद्यावारिधी गरिरहेकी उनी संग्रहालय अनुसन्धानकर्ताको रुपमा काम पनि गर्दैछिन्।