कोरियाको जिन्छन् शहरमा हुन गइरहेको पहिलो विश्व युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन ६७ नेपाली योङ्गमुदो खेलाडीहरु, प्रशिक्षक र एशोसियसन पदाधिकारीहरुको टोली कोरियामा आइपुगेको छ।
यही नोभेम्वर ६ तारिकदेखि दक्षिण कोरियाको जिन्छनस्थित योङ्गजिङ युनिभर्सिटीमा उद्घाटन हुनुका साथै खेल प्रतियोगिता सुरु भएको छ।
नेपाल योङ्गमुदो एशोसियसन टोलीद्वारा कोरियामा हुन लागेको योङ्गमुदो खेल प्रतिस्पर्धामा भाग लिन १९ वर्ष मुनिका ४१ जना विद्यार्थीहरुलाई सहभागी जनाएको योङ्गमुदो पदाधिकारी सत्य नारायण श्रेष्ठले बताए।
उमेर तथा तौलका आधारमा महिलाहरुले ५ वटा इभेन्टमा तथा पुरुषहरुको ६ वटा इभेन्ट गरि जम्मा ११ वटा इभेन्टमा ४१ जनाले भाग लिने छन्।
नेपालको तर्फबाट पहिलो सहभागिता भएकोले खेलाडीहरुले प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको नेपाल योङ्गमुदो एशोसिएसनका अध्यक्ष मोहन बहादुर कार्कीले बताए।
कोरियाको योङ्गिन युनिभर्सिटीबाट सुरू भएको यस खेल गत वर्षदेखि नेपालमा पनि बिस्तार भएको छ। यो खेललाई विकास र बिस्तार गर्न कोरियन प्रशिक्षकहरु नेपालमा समेत गएर प्रशिक्षण दिइरहेका छन्।
अन्य विभिन्न देशहरुमा पनि यस खेलको बिकास र बिस्तार हुने क्रम जारी रहेको छ। हालसम्म यो खेल विश्वका ३४ वटा देशहरुमा बिस्तार भैसकेको छ।