झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी कोरियाको सिउलमा सोमबारदेखि सुरू हुने भएको छ।
‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली समाज’ को नाराका साथ सम्पन्न हुने सम्मेलन आगामी सेप्टेम्बर २४, २५ र २६ तारिखमा सउल ड्रागन सिटीस्थित नोभेटलमा हुने भएको हो।
संसारका कुना काप्चामा छरिएर रहेका झापालीहरूलाई जन्मभूमिको विकास र विस्तारमा लाग्न प्रेरित गर्दै यसलाई अरु देशहरूमा फैलाउने उद्देश्य रहेको अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय अध्यक्ष दिनेश पोखरेलले बताए।
सिड्नीबाट सउल जानुअघि पत्रकारहरूसँगको भेटमा पोखरेलले झापा जिल्लामा सामूहिक लगानीमार्फत् कृषि, पर्यटन, उर्जा आदि जस्तै उत्पादनशील विभिन्न क्षेत्रमा लगानीको अवसर सृजना गरी रोजगार तथा उद्यमशीलताको विकास गरी झापाली जनतालाई सहयोग गर्ने विषयमा छलफल हुने बताए।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, नेपाली कांग्रेसका प्रभावशाली यूवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनको उपस्थिति हुने पक्का भैसकेको केन्द्रीय अध्यक्ष पोखरेलले बताए ।
सन् २०१७ को प्रारम्भमा स्थापना भएको यो संस्थाले अहिलेसम्म केही सामाजिक र परोपकारी कार्यहरू सम्पन्न गरिसकेको छ।
अक्टोबर २०१७ मा झापाको विर्तामोडमा भएको अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय अधिवेशनबाट अष्ट्रेलिया बसोबास गर्दै आएका दिनेश पोखरेललाई अध्यक्ष पदमा चयन गरेको थियो।
संस्थाले पोखरेलको नेतृत्वमा अन्तर्राष्ट्रिय सञ्जाललाई विश्वव्यापी रूपमा विस्तार गर्दा हालसम्म २४ देशमा आफ्नो संस्थाको विस्तार गर्न सफल भएको छ।
झापाली समाजको यो दोस्रो क्षेत्रीय सम्मेलन हो। यसअघि कतारको दोहामा पहिलो विश्व सम्मेलनको आयोजना गरेका थियो।
नेपाल सरकारसँग वैधानिक रूपमा नै दर्ता भईसकेको यो समाजले विश्वभर छरिएर बसेका झापालीहरूलाई एकीकृत गरी कृषि, पर्यटन तथा औद्योगिक सम्भाव्यता खोजी गरी दीर्घकालीन सामूहिक लगानीको गुरुयोजनाको बारेमा पनि सउल भेलामा बृहत्तर छलफल गरिने जानकारी संस्थाका सचिव भुपाल सिटौलाले बताए ।