विश्व शान्तिमा अग्रणी भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस वर्षको सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ।
मुलुकलाई आर्थिक रूपले शक्तिशाली बनाउँदै भारतीय जनताको जीवनस्तर उच्च राख्न मोदीको भूमिका अग्रणी रहेको भन्दै उक्त पुरस्कार दिने घोषणा गरिएको समाचार एजेन्सी योंहापले जनाएको छ।
सियोल पिस प्राइज कल्चरल फाउन्डेसनका अध्यक्ष क्योन इ ह्योकले गत मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरेका हुन्।
आर्थिक विकास तथा अन्तरदेशीय सहायता मार्फत विश्व शान्तिमा उनको भूमिका उच्च रहेको बताइएको छ। त्यस्तै बिभिन्न कुटनीतिमार्फत एसिया प्यासेफिक क्षेत्रको समुन्नत विकास तथा शान्तिको लागिसमेत उनको भूमिका उच्च छ।
मोदीको कार्यकालमा भारतको आर्थिक वृद्धि ७.६ प्रतिशत रहेको इन्टरनेसनल मोनेटरी फन्डले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ। नरेन्द्र मोदीले अबलम्बन गरेको ‘मोदी इकोनिमिक्स’ ले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्दै विश्वको सबैभन्दा द्रूत आर्थिक विकास गर्न सफल भएको समेत बताइएको छ।
सन् १९९० सालमा स्थापना गरिएको सिओल शान्ति पुरस्कार पहिलो पटक पूर्व ओलम्पिक अध्यक्ष जुआन एन्टोनियो समारन्चले पाएका थिए। त्यसपछि मोदी १४ औं बिजेता हुन्। पुरस्कारको राशी २ लाख अमेरिकी डलर हुनेछ।
यसभन्दा पहिला सियोल शान्ति पुरस्कार बिजेता डा. आन , ग्रामिण बैंकका संस्थापक मुहमद युनुस त्यस्तै पन्जिल अस्पतालका संस्थापक मुक्वेजी लगायतले नोबेल पुरस्कार समेत हात पारिसकेका छन्।