कोभिड-१९ भाइरस फैलाएको आरोपमा दक्षिण कोरियाको सिन्चियोन्जी चर्च अफ जिससका नेतालाई हत्या अभियोगमा अनुसन्धान थालिएको छ।
सउलको सरकारले संक्रमण रोक्न समन्वय गरौंभन्दा अस्वीकार गरेको भन्दै ८८ वर्षीय ली म्यान हीविरूद्ध नागरिकको हत्या गरेको अभियोगमा अनुसन्धान गर्न मुद्दा हालेको हो।
हीले स्थापना गरेको उक्त चर्चका अहिले कोरियाभरि शाखा छन्। तिनैमध्ये थेगु सहरमा रहेको शाखाबाट कोरियामा कोभिड-१९ को संक्रमण फैलिएको हो। अहिलेसम्म कोरियामा ४ हजार २ सय १२ जना भाइरसबाट बिरामी परेका छन् भने २२ जनाको ज्यान गइसकेको छ।
सउलका मेयर पार्क वन सुनले ही र चर्चका अन्य नेताहरूले सुरूदेखि नै सहयोग गरेको भए प्रभावकारी व्यवस्था अपनाएर अहिले मृत्यु भएका धेरैको ज्यान बचाउन सकिने बताए।
‘अवस्था यति गम्भीर र आपतकालीन छ तर यो आपतका प्रमुख निर्देशक ली मान हीलगायत चर्चका नेताहरू कहाँ छन्,’ मेयर सुनले फेसबुकमा लेखेका छन्।
सउल सरकारले ही र अन्य १२ जनाविरूद्ध हत्या र रोग नियन्त्रण कानुनको उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरेको जनाएको छ।