उत्तर कोरियाले जापानको उत्तरी क्षेत्रमाथिबाट जाने गरी मिसाइल परीक्षण गरेको छ। सो मिसाइल जापानको समुद्रमा खसेको छ।
स्थानीय समय अनुसार मंगलबार बिहान प्रहार गरिएको मिसाइल जापानको होक्काइदो टापू हुँदै समुद्रमा गएर पड्केको थियो।
डेलीमेलमा उल्लेख भएअनुसार मिसाइल प्रहार पछि त्यस क्षेत्रका स्थानीय भयभित भएका थिए। सुरक्षा चुनौतीका कारण जापानले भने मिसाइल ध्वस्त पार्न कुनै प्रयास गरेन। करिब ८ मिनेटमा १७ सय किलोमिटर पार गरेको सो मिसाइल तीन टुक्रा भएर होक्काइदो टापू हुँदै प्रशान्त महासागरमा खसेको थियो।
उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले यसअघि धेरै मिसाइल परीक्षण गरेका भएपनि यो मार्गमा पहिलो पटक गरेका बताइएको छ।
अमेरिकासँगको तनावका कारण उसको क्षेत्र गुआम हमला गर्ने चेतावनी दिदैं आएको कोरियाले अहिले सोही मार्गमा मिसाइल प्रहार गरेको हो। विश्लेषकहरूले यसलाई सोही घटनासँग जोड्दै कोरियाले अमेरिकालाई तर्साउने प्रयास गरेको टिप्पणी गरेका छन्।
आफ्ना नागरिकको सुरक्षाका निम्ति कुनै कसर बाँकी नराख्ने जापानका प्रधानमन्त्री सिन्जो अबेले बताएका डेलीमेलमा उल्लेख छ।