भ्रष्टाचार आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन्।
मलेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी संस्थाले उनलाई पक्राउ गरेको हो। उनीमाथि राष्ट्रिय विकास कोषबाट सात सय मिलियन डलर भ्रष्टाचार गरेको आरोप छ।
गत मेमा भएको निर्वाचनको परिणाम घोषणा भएलगत्तै उनीमाथि छानविन सुरू भएको थियो।
नजिवले भने भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन्। भ्रष्टाचारका विषयमा यसअघि विशेष अनुसन्धान टोलीले नजिवको बयान लिएको थियो। उनलाई बुधबार बिहान क्वालालाम्पुर उच्च अदालतमा पेश गर्ने तयारी गरिएको छ। केही समयअघि मलेसियाको प्रहरीले नजिव र उनकी श्रीमतीसँग भएको २ सय ३७ मिलयन डलर बराबरको सम्पत्ति रोक्का राखेको थियो। जसमा गहना र रकम समेत थिए। नजिवको घरबाट मलेसियन प्रहरीले इतिहासकै सबभन्दा ठूलो परिमाणमा सामान बरामद गरेको जनाएको थियो।
नजिवले सन् २००९ मा मलेसिया विकास कोष (1MDB) स्थापना गरेका थिए। जसको उद्देश्य क्वालालाम्पुरलई फाइनान्सियल हवको रूपमा विकास गर्ने थयो। तर सन् २०१५ मा कोषले बैंकहरूसँग लिएको ११ विलियन डलर ऋण तिर्न नसकेपछि घोटालाका आशंका उब्जिएका थिए।
वाल स्ट्रिट जर्नलले पूर्वप्रधानमन्त्री नजिवविरुद्ध ७ सय मिलियन डलर भ्रष्टाचारको फाइल अगाडि बढेको जनाएको छ।
भ्रष्टाचारको विषयमा अमेरिकाले समेत छानविन सुरू गरिसकेको छ। अमेरिकाको जस्टिस डिपार्टमेन्टले मलेसिया विकास कोषबाट ३ सय ५० विलियन डलर दुरुपयोग भएको बताएको थियो।
अमेरिकाको अनुसन्धान निकाय एफबिआइले मलेसियाका जनतासँग धोका भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। एफबिआइले नाम सार्वजनिक नगरे पनि धोका दिने व्यक्ति मलेसियाको उच्च तहका सरकारी अधिकारी भएको प्रतिवेदनमा उल्लेख थियो ।