मलेसियाको राजधानी क्वालालम्पुरमा मार्च १५ देखि १७ सम्म आयोजित माट्टा पर्यटन मेलाको नयाँ संस्करणमा नेपालले पनि सहभागिता जनाएको थियो।
नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त मेलामा नेपालका ८ निजी क्षेत्र पर्यटन ब्यवसायीको सहभागिता थियो।
नेपाल भ्रमण वर्षको सन्देश लाइफटाइम एक्सपेरियन्सेसको भावमा नेपाली स्टल सजाइएको थियो। नेपाली स्टल परम्परा र आधुनिकताको संमिश्रणको रूपमा निर्माण गरिएकाले मेला कै आकर्षणको रूपमा थियो।
अन्य स्टलको तुलनामा नेपाली स्टलमा आगन्तुकको भीड भरिभराउ देखिन्थ्यो ।
स्टलमा आउने जिज्ञासुले आगामी सत्रमा नेपाल भ्रमण गर्दा हेर्न छुटाउन नहुने ठाउँहरू, विशिष्टताका क्षेत्रहरु साथसाथै पदयात्रा क्षेत्र, भिसा, पहुँच, हलाल खानाको उपलब्धता विषयमा जानकारी लिएका थिए।
मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डे र अधिकारीले समेत नेपालको स्टलको अवलोकन गर्नुका साथै नेपाली सहभागीहरूसँग कुरा गरेका थिए।
निजी क्षेत्रका सहभागीहरूले सिधै कन्जुमरमा पुग्ने यस्तो मेला प्रभावकारी रहेको जनाएका छन्। मलेसियालीहरू जिम्मेवार पर्यटकहरू छन् जसले गुणस्तरमा सम्झौता नगरी खर्च गर्न सक्ने हुँदा यहाँ अझ सशक्त प्रबर्धन गर्न जरूरि छ।
काठमाडौं र क्वालालम्पुरका बीच नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलेशिया एयरलाइन्स, र मालिन्डो एयरद्वारा नियमित उडानहरू भइरहेका छन्।
मेलाको आयोजक मलेशिया एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेण्ट हो।