आतंकवादी विरुद्धको सुरक्षा कारबाही क्रममा मलेसिया प्रहरीले बिहीबार राति २९० जना प्रवासी नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा विशेषगरी नेपाल, भारत, पाकिस्तान, यमन, सिरिया, बंगलादेश, सुडान र प्यालेस्टाईनका रहेका अधिकारीहरूले जानकारी दिएका छन्।
प्रहरी मुख्यालयमा सोधपुछ तथा अनुसन्धानपछि नियन्त्रणमा लिएकामध्ये कोही पनि आतंकवादीका सम्पर्क व्यक्ति नभएको स्ट्रेट्सटाइम्सले जनाएको छ। उनीहरूमध्ये ५७ जनासँग भने मलेसिया बस्ने वैध अनुमतिपत्र नभएको पाइएको छ।
केएल एयरपोर्ट नजिकै साईबरजया सहरमा बुधबारदेखि बिहीबार रातिसम्म प्रहरीले सुरक्षा कारबाही चलाएको थियो।
स्थानीय सुरक्षा अधिकारीका अनुसार यो महिनाको अन्त्यमा मलेसियामा २९औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको हो।
पक्राउबारे बोल्दै प्रहरी अधिकृत खालिद अबु बकरले देश बाहिर-भित्र आउजाउ गर्ने हरेक व्यक्तिबारे आफूहरूले जानकारी पाउनुपर्ने बताएका छन्। उनले भनेका छन्, 'हाम्रो देशमा केही भइहाल्यो भने कसैले पनि जिम्मेवारी लिदैंन।'
गत साता उप-प्रधानमन्त्री अहमद जाहिद हामिदीले मलेसियन अधिकारीहरूले टर्कीबाट निष्कासन गरिएका १६ जना आतंकवादी खोजिरहेको बताएका थिए।