भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलस मडुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले भेनेजुयलालाई आग्रह गरेको छ।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुयलाका राष्ट्रपति मडुरोलाई आठ दिनभित्र निर्वाचनको मिति तोक्न शनिबार आग्रह गरेका हुन्।
सान्चेजले वर्तमान् नेतृत्वले आठ दिन भित्रमा निर्वाचनको मिति नतोके स्पेनले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने बताए।
‘यदि आठ दिनभित्र भेनेजुयलामा स्वच्छ, स्वतन्त्र र पारदर्शी निर्वाचनको आह्वान नगरिए स्पेनले प्रतिपक्षी नेता हुवान गुवाइदोलाई राष्ट्रपति रूपमा मान्यता दिनेछ,’ स्पेनी प्रधानमन्त्री सान्चेजले भने।
भेनेजुयलाका प्रतिपक्षी नेता गुवाइदोले बुधबार आफैंलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका थिए। घोषणालाई अमेरिका तथा दक्षिण अमेरिकाका अन्य राष्ट्र पेरू, ब्राजिल, कोलम्बियाले मान्यता दिएका छन् । युरोपेली मुलुकहरू जर्मनी र फ्रान्सले पनि विपक्षी नेतालाई मान्यता दिने सङ्केत गरिसकेका छन्।
तर टर्की, रसिया, चीन भने मडुरोको पक्षमा देखिएका छन्। मडुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरूले विगतमा झैं समर्थन यथावत् रहेको जनाएका छन् भने कतिपय मुलुकहरू यसबारे बोलिसकेका छैनन्। (रासस/एएफपी)