मेक्सिकोमा फेरि एक जना पत्रकारको हत्या भएको छ।
शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन्।
४७ वर्षीय पत्रकार स्यान्टियागो ब्यारोलाई दुई अज्ञात व्यक्तिले उनकै निवासमा आएर गोली प्रहार गरेका थिए। गोली प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पुर्याएको भएता पनि बाटोमै उनको मृत्यु भएको थियो।
ती व्यक्तिले पत्रकारको ढोका ढक्ढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो।
यस वर्ष अर्थात् गएको तीन महिनामा शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित तीन जना पत्रकारको हत्या भएको छ।
मेक्सिकोमा पत्रकारको सुरक्षा चुनौती थपिएको छ।
मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन्।
यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हुँदै गएको सरोकारवालाको भनाइ छ।
सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए। सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन्।
पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उनले बताएका छन्। उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ ।
मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुँदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् भएको बताएका छन्। यस घटनाप्रति उनले दुःख व्यक्त गरे।
पत्रकार स्यान्टियागो सो नगरमा लागुऔषधको अवैध ओसारपसार गर्ने गिरोहका विरूद्धमा समाचार ‘स्टोरी’हरू गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन्।
यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो। सन् २०१२ देखि २०१८ सम्ममात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो।
ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन।(रासस/एएफपी)