नवाज शरिफका भाइ शेहवाज शरिफ पाकिस्तानका प्रधानमन्त्री नबन्ने भएका छन्। नवाजले आफू बाहिरिनेबित्तिकै प्रधानमन्त्री बनाउने भन्दै आए पनि शेहवाज आफैं पछि हटेका हुन्।
पन्जाब प्रान्तका मुख्यमन्त्री शेहवाजले गत सोमबार पत्रकार सम्मेलन गरी आफू त्यहीँ बस्ने बताएकाे बिबिसीले जनाएकाे छ। नवाजकाे बर्खास्तगीपछि रिक्त पदपूर्तिका लागि हुने संसदीय उपचुनावमा पनि उनले भाग नलिने बताएका छन्।
स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्दै अदालतको आदेशअनुसार नवाज बाहिरिएपछि शेहवाजलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए।
सांसद नबनी प्रधानमन्त्री हुन नपाउने नियमअनुसार शेहवाज तल्लो सदनको सदस्य हुनुपर्ने थियो। मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उनले केन्द्रीय संसदको तल्लो सदन ‘नेशनल एसेम्बली‘को उपचुनाव जित्नुपर्ने थियो। उनले यही लामो प्रक्रिया पूरा गर्नपर्ने भएकाले पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई ४५ दिनको अन्तरिम प्रधानमन्त्री पनि नियुक्त गरिएको थियो।
शेहवाज पछि हटेपछि अब पाकिस्तानको प्रधानमन्त्री को हुने भन्नेमा सबैकाे चासाे छ।