प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआम टापू नजिकै हमला गर्ने योजना यही साताभित्र तयार हुने उत्तर कोरियाले जनाएको छ।
उक्त क्षेत्रमा चारवटा ह्वासङ-१२ मिसाइल प्रहार गर्ने योजना बनिरहेको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको बिबिसिमा उल्लेख छ।
मध्य अगस्ट अर्थात् अबको एक साताभित्र तयार हुने भनिएको सो योजना स्वीकृत गर्न राष्ट्रपति किम जोङ उनले हस्ताक्षर गर्नुपर्नेछ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियामाथि आक्रमण हुन सक्ने चेतावनी दिएपछि कोरियाले गुआममा हमला गर्ने विचार गरेको बताएको थियो।
उसको विचारमाथि अमेरिकाले कोरियाले यो कदम चालेमा उसको 'शासन समाप्त' हुने जवाफी चेतावनी फर्काएको छ।
कोरियाले हमला गर्ने भनेको प्रशान्त महासागरस्थित गुआम करिब १ लाख ६३ हजार जनसंख्या भएको अमेरिका नियन्त्रित टापू हो। यहाँ अमेरिकी सेनाको हवाई अड्डा र करिब ६ हजार सेना छन्।
अमेरिकाबाट ११ हजार किलोमिटर टाढा यो टापू फिलिपिन्स र अमेरिकी राज्य हवाइको बीचमा पर्छ। उत्तर कोरियाबाट भने गुआम ३ हजार ४ सय ३० किलोमिटरको दूरीमा छ।
यो टापूको सामरीक महत्व छ। यहाँस्थित हवाई अड्डाको पहुँच साउथ चाईना सी, कोरिया र ताइवानसम्म छ।
अमेरीकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको निकासीलाई लक्षित गरेर नयाँ नाकाबन्दी लगाएपछि उत्तर कोरिया र अमेरीकाबीच तनाव चर्किएको हो।