‘गैर आवासीय नेपाली संघ’ यसको नाम सुन्ने वित्तिकै संसार भर छरिएका नेपालीले आफ्नै ‘साझा संगठन’ को रूपमा लिन्छन्।
संसारभरका सबै नेपालीलाई समेट्ने र राजनीतिक गन्धबाट टाढा राख्ने उद्धेश्य लिएर यसको स्थापना भएको थियो।
विडम्वना, यतीबेला एनआरएन भित्र राजनीति छिरेको छ। धनाड्यका लागि जुँगाको लडाईँ र एनआरएनको केन्द्रीय पदाधिकारी पदलाई नेपालमा हेलिकप्टर सयर गर्ने र नेता मन्त्रीको ढोकामा पुग्ने भर्याङको रूपमा रूपान्तरण भएको छ।
दलीय प्यानलबाहेक स्वतन्त्र उठ्ने जो कोहीले अहिले भोट नै पाउँदैनन्। एक स्वतन्त्र संस्थालाई दलीय रूपमा रूपान्तरण गरेर राजनीतिको फोहोर खेल यतिबेला एनआरएनमा छिरेपछि संस्थाप्रति तृष्णाभन्दा घृणा गर्ने बढी छन्।
एनआरएन भित्रको चरम राजनीति, ठगीधन्दा अनि गल्ती गर्ने पदाधिकारीलाई केन्द्रको ढाकछोप जस्ता कारणले आशाभन्दा निराशा बढेको छ। संस्थाको बदनामी बढिरहेको छ। यस्तै निराशाबीच विदेशमा रहेका हजारौं नेपाली साधारण सदस्य बन्नसमेत रूची देखाएका छैनन्।
यद्यपी नेतृत्वमा रहेकाले न यसबारे कहिल्यै सोच्दछ न कहिल्यै महसुस गर्छ। मात्र भड्किलो चुनाव खर्चिलो उम्मेद्वारी आसन र भाषणसँगै नेतासँगको फोटोसेसनमै अलमलिएका अभियन्ता देख्दा कुनै दिन एन आरएन पनि एउटा क्लबमा सिमित नहोला भन्न सकिन्न।
न्यून सदस्य, आकर्षण कम
केन्द्रीय उपाध्यक्षसहित अधिकांश एनआरएन अभियान्ता रहेको बेल्जियममा २२ सय भन्दा कम सदस्य हुनु त्यो पनि स्वस्फुर्त नभई उमेद्वारले आफूलाई भोट हाल्नकै लागि सदस्य बनाइदिने गरेका छन्।
४० हजार हाराहारी नेपाली रहेको पोर्चुगलमा १७०० सयभन्दा कम साधारण सदस्य छन्। यस्तै करिब ८ हजार नेपालीको बसोबास रहेको मुलुकमा २ हजार २२ सय संख्यामा एनआरएनमा सदस्य हुनु संस्थाप्रतिकै अविश्वास प्रमुख कारण हो।
८ हजारभन्दा बढी नेपालीको बसोवास रहेको फ्रान्समा ५ सय हाराहारीमा सदस्य छन्। अर्थात करिब ६ प्रतिशत सदस्या हुँदा ९४ प्रतिशत व्यक्तिले अझै पनि संस्थालाई विश्वास गर्न सकेका छैनन्।
५ हजार हाराहारीमा सदस्य रहेको डेनमार्कमा ४७० भन्दा कम सदस्य छन्।
यी त केही उदारहण मात्र हुन्। प्राय अधिकांश मुलुकको अवस्था यस्तै छ। संस्था र यसका पदाधिकारीले विश्वास दिलाउन नसक्दा समग्र संस्थाकै गरिमामाथि प्रश्न उठेको छ।
एनआरएनप्रति किन वितृष्णा
पछिल्लो समय एनआरएनमा नेपाली राजनीति हाबी हुँदा दुषित भएको छ। विदेसमा हुने एनआरएन कार्यसमितीमा दलीय भागवण्डाबाट राम्रोभन्दा हाम्रोलाई चयन गर्दा ठग, दलाल र मानवतस्कर चुनिने अनी संस्थाको आडमा ठगि गर्नेलाई केन्द्रले कारबाहीभन्दा वढवा दिने कार्यले एनआरएनप्रति निराशा बढ्दो छ।
माल्टाका एक जना एनआरएन पदाधिकारी मानवतस्करीको कारणले निलम्वनमा परे तर उनलाई कुनै कारबाही भएन। यस्तै पोर्चुगलमा एनआरएनका कोषाध्यक्षलेनै २०० भन्दा बढी नेपालीको २ करोड भन्दा बढी ठगि गरे। तर पनि उनलाई कुनै कारबाही भएन। पीडितले केन्द्रीय अध्यक्षलाई समते स-प्रमाण कारबाहीको माग गरे पनि सुने नसुनेझै गरियो अन्ततः पीडितले अहिलेसम्म न्याय पाएका छैनन्।
यी त केही प्रतिनिधि घटनामा मात्र हुन्, संस्थाको आडमा यस्तै गतिविधि गर्नेहरूमाथि न कारबाही भएको छ न त कुनै दण्ड जरीवाना यस्तै दण्डहिनताका कारण समग्र संस्था बदनाम हुँदैछ।
अनुशासनको कमी
केही समय पहिले अमेरिकाको एनआरएन निर्वाचनमा हात हालाहाल भयो। त्यसको भिडिओ भाइरलनै भयो। तर पनि यस्तो कार्यमा संलग्नलाई न कुनै कारबाही भयो न त कसैबाट माफी मागियो।
प्राय अधिकांश मुलुकमा हुने एनआरएनका कार्यक्रममा लफडा भए पनि केन्द्रले कुनै हस्तक्षेप गरेको पाइदैन।
अझ सन् २०१९-२०२१ को केन्द्रीय अधिवेशनमा अध्यक्षका प्रत्यासीले गरेको फजुल खर्च बेहिसाब थियो।
प्रचार यति भकिलो र खर्चिलो थियो कि, उनीनीहरूको खर्च गराई देख्दा पैसा कतै खानीबाट निकालेर ल्याएका हुन् कि, जस्तो भान हुन्थ्यो। न प्रचार-प्रसारमा नियमन थियो न खर्चमा कुनै सिमा। अझ अनुशासन त एनआरएनमा सुहाउने विषयनै होइन।
धनीको मात्र संस्था
एनआरएनमा समाज सेवा गर्ने मन भएकाहरू जानै सक्दैनन्। यहाँको नेतृत्वमा पुग्न अत्यन्त महंगो खर्च गर्नुपर्छ। जित्नका लागि नभएर उम्मेद्वारी दिन मात्र पनि यहाँ चर्को शूल्क बुझाउनुपर्ने हुन्छ।
२०१९-२०२१ मा अध्यक्षको उम्मेद्वारले १० हजार डलर शुल्क बुझाउनुपर्थ्यो भने उपाध्यक्ष र महासचिवको लागि ६ हजार डलर तोकिएको थियो। यस्तै सचिव र कोषाध्यक्षको लागि ५ हजार डलर, सह-कोषाध्यक्षको लागि ४ हजार डलर शुल्क लाग्ने गर्थ्यो।
यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकको लागि ३५०० डलर, क्षेत्रीय उप-संयोजक क्षेत्रीय महिला तथा युवा संयोजकको लागि २५०० डलर र प्रत्येक देशबाट जाने आइसीसी सदस्यको लागि एक हजार डलर लागेको थियो।
२०२१-२०२३ मा अब यो शुल्क अझ बढ्नेवाला छै। त्यसैले पनि एनआरएनमा पैसा हुने मात्र चुनाव मैदानमा उत्रिन सक्छन्।
फेसनेवल कार्यकाल
एनआरएनको कार्यकाल अचम्मको छ। २ वर्षे कार्यकालका लागि चुनाव जितेकाहरू पहिलो ६ महिना वधाई र सम्मान थापेरै बस्छन्। बाँकी ६ महिना विधिन्न समिति उपसमितीमा पदाधीकारी मनोनयन गर्दा जान्छ। अब केही काम गर्न अध्यन गर्ननै ६ महिना लाग्छ बाकी ६ महिना फेरि अर्को चुनावको लागि रस्साकस्सी र देस दौडाहामा जान्छ। यो २ वर्षे कार्यकाल नाम र प्रचारको लागि मात्र हो। साच्चै भन्ने हो भने फेसनेवलबाहेक अरू केही काम गर्न यो समय पुग्दैन।
पदको दुरूपयोग
नेपालमा रहेकालाई एनआरएन एक विसुद्ध सामाजिक संस्था हो, यहाँ समाजसेवा गर्ने सामाजिक व्याक्तित्व हुन्छन् भन्ने लाग्छ। भर्खर नेपालबाट आएकाहरूका लागि त एनआरएन पदाधीकारी साच्चै ठूला मान्छे हुन्, सामाजिक मान्छे हुन् भन्ने भ्रम हुन्छ।
त्यसैले केही सल्लाह युझाव लिन या कुनै सहयोगको अपेक्षाको लागि एनआरएनको पदाधिकारीसँग सम्पर्क गर्छन्। तर ती पदाधिकारी कताबाट कसलाई ठग्न पाईएला भनेर बाटो कुरेर बसेको देखिन्छ। अनि सुझाव सल्लाहको नाममा एनआरएनको नाम दुरूपयोग गर्दै ठगी गरेका घटनाहरू अधिकांश मुलुकमा सुनिदै आएका छ।
यस्तै विदेशमा हुने विभिन्न मेला र महोत्सवमा मानव तस्कर गर्दै अनुचित फाइदा उठाउने गरेको घटना पनि सुनिँदै आएको छ।
अन्त्यमा,
यतिबेला विदेसमा एनआरएन भन्दा गैर एनआरको बाहुल्य छ। यसले एनआरएन अभियान्तामाथि नै एक नैतिक प्रश्न खडा गरेको छ। यसको जिम्मेवारी पदमा पुगेकाले लिनैपर्छ। ठगी, तस्करी र बदमासीलाई एनआरएनले लगाम लगाउनै पर्छ।
राजनीतिभन्दा बाहिर राखेर कुनै पनि राजनीति दलमा आवद्ध भएकालाई पदाधिकारी नबनाउनुका साथै पदावधि थप गरेर काम गर्न दिनुपर्छ।
यसरी सामाजिक रूपमा सक्रिय तथा अग्रसर हुनेलाई मौका दिएर मितव्ययी तथा भड्कीलो खर्चरहित चुनाव भएमा सामाजिक भावना भएकाहरू नेतृत्वमा आउने थिए र साच्चीकै संस्थाप्रति आम रूची बढ्नेछ अनि अपनत्व फिल हुनेछ। होइन भने आगामी दिनमा एनआरएनप्रति झन निरासा र वितृष्णा नवढ्ला भन्न सकिँदैन।