साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध एक्कासी अन्त्य गरेका छन्। कुटनीतिक सम्बन्ध अन्त्य गर्नुको कारण कतारले आतंकवादलाई समर्थन गरेको ती देशहरुले आरोप छ । मध्यपूर्वमा विकसित उक्त घटनाले खाडी मुलुकहरु बिचको सम्वन्धलाई झड्का लाग्नुका साथै मध्यपूर्वको भू-राजनीतिमा नयाँ घटनाक्रमको विकास भएकोछ।
सोमबार बिहान साउदी अरेबियाका राज्य नियन्त्रित सञ्चार माध्यमले कतारसँग सम्वन्ध अन्त्य गर्नुको कारण आतंकवाद र अतिवादबाट आएको सुरक्षा खतराबाट देशलाई बचाउनु भएको बताएका छन्।
साउदी अरेबियाले विज्ञप्ति जारि गर्दै दुई देश बीच आवत जावतका निम्ति जमिन, हवाई, र समुद्री बाटो बन्द गरेको घोषणा गरेका छन् ।
गत महिना साउदी अरेबिया, युएई, बहराइन र इजिप्टले कतारबाट प्रशारण हुने अल जजिरालगायत कयौं संचार माध्यमलाई आफ्नो देशमा प्रतिवन्ध लगाएका थिए।
कतारलाई इजिप्टको सुन्नी धार्मिक संगठन मुस्लिम ब्रोदरहुड र सिया राष्ट्र इरानलाई समर्थन गरेको आरोप लागेको छ।
कतारका अमिर अल थानीले इरानलाई ‘इस्लामिक शक्ति’ भन्दै प्रशंसा गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानप्रतिको नीतिको आलोचना गरेका थिए।
अमिर अल थानीको उक्त अभिव्यक्ति पछि ती देशहरुले कतारी सञ्चार माध्यममालाई प्रतिबन्ध लगाएका थिए।
इरानमा बहुसंख्यक मानिस सिया सम्प्रदाय मान्छन्। बहुसंख्यक सुन्नी मुस्लिम भएका अन्य अरब देशहरुको इरानसँग शत्रुतापूर्ण सम्वन्ध छ।
अमिर अल थानीले इरानलाई ‘इस्लाम शक्ति’ राष्ट्र भएको बताएका थिए। उक्त प्रतिक्रिया कतारका आधिकारिक संचार माध्यममा आएको थियो। तर कतारले भने आफ्नो वचाउ गरेको छ। आफ्नो आधिकारिक वेबसाइट ‘ह्याक’ भएको र उक्त समाचार कसैले बनाएर हालिदिएको कतारको दावी छ।
साउदी अरब र इरानबीच कयौं क्षेत्रीय मुद्दाहरु छन् जसले दुई देश बिचको सम्वन्ध तनावपूर्ण बनाएको छ। इरानको आणविक कार्यक्रमलाई साउदी अरेवियाले सुरक्षा खतराका रुपमा लिने गरेको छ। त्यस्तै आफ्नो प्रभाव क्षेत्रका रुपमा रहेका सिरिया, लेबनान र छिमेकी मुलुकमा इरानले प्रभाव बढाएको भन्दै साउदी अरेविया चिन्तित छ।
साउदी अरेविया, युएई, बहराइन, ओमन र कतार मिलेर ‘गल्फ कोअपरेशन काउन्सिल’ नाम गरेको क्षेत्रीय संगठन बानाएका छन्, जुन मध्यपूर्व राजनीतिमा प्रभावशाली मानिन्छ।
नयाँ भू-राजनतिक घटनाप्रति कतारले प्रतिक्रिया दिएको छैन्। कतारले सन् २०२२ को फिफा वर्ल्ड कप आयोजना गर्दैछ। त्यहाँ अमेरिकाको निकै ठूलो सैन्य अखडा समेत रहेको छ।