दुर्घटनामा घाईते सहकर्मीलाई बचाउन खोज्दा हत्याको अभियोग लागेर जेल परेका तेह्रथुमका खड्कबहादुर जोगी युएईको जेलबाट छुट्ने लगभग निश्चित भएको छ।
हत्याको अभियोग लागेर ५ वर्षअघि जेलपरेका जोगीको मुक्तिका लागि आवश्यक पर्ने २ लाख दिराम विभिन्न मुलुकमा रहेका दाताहरुको सहयोगमा जुट्न लागेको जोगी बचाउ अभियानका संयोजक देव बाँस्कोटाले बताए।
अभियानद्वारा स्थापित बैंक खातामा ५४ लाख रुपैयाँ जम्मा भएको र इन्द्रेणी कार्यक्रम मार्फत ५ लाखको प्रतिबद्धता आएको कारण जोगीको ब्लडमनी तिर्न आवश्यक रकम अभाव नहुने बाँस्कोटाले दाबी गरेका छन्।
बाँस्कोटाका अनुसार जोगीको सहयोगका लागि करिब ७७ लाखको प्रतिबद्धता विश्वभरिबाट आएको छ। संयोजक बाँस्कोटाका अनुसार युकेबाट काजिमान खापुङको अग्रसरतामा ७ लाख ७५ हजार रूपैयाँ, कोरियाबाट शमशेर पन्धाक र शिव प्याङ्गोको अग्रसरतामा ६ लाख ५० हजार रुपैयाँ र मलेसियामा रहेको तेह्रथुम सम्पर्क मन्चको अगुवाईमा ३ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ ।
यो अभियानमा अमेरिकामा रहेका समाजसेवी हेम थापाको अतुलनीय योगदान रहेको बाँस्कोटाले बताएका छन्। उनी यही कामका लागि नेपाल गएर आफू संयोजक रही दुर्गा गिरीको अध्यक्षतामा मूल समिति बनाई जोगीको उद्दार गर्ने अभियानमा जुटेका थिए।
अभियानलाई साथ दिने देशविदेशका नेपालीको सहयोगका कारण रकम पुग्न लागेको बाँस्कोटाले बताए। समाजसेवी हेम थापाले एबीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रम पीडित जोगीको घरसम्म लाने र २ लाख रुपैयाँको सहयोगको समेत प्रतिबद्दता गरेका छन् ।
जोगीको उद्दारको लागि आवश्यक रकम नेपाल सरकार, परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावास, अबुधाबीबाट प्रक्रियागत रुपमा पठाइने संयोजक बाँस्कोटाले जानकारी दिएका छन्। जोगीको मुक्तिको लागि २ लाख दिराम पुर्याउन नेपाली ६०/६२ लाख रुपैयाँ खर्च हुने र अभियान ब्यवस्थापन खर्च कटाएर बचत भएको रकम पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै यस्तै समस्यामा परेकालाई सहयोग गरिने समितिको निर्णय रहेको अभियन्ता बाँस्कोटाले बताएका छन् ।
को हुन जोगी ? कसरी परे जेलमा ?
अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्स सहकर्मीलाई बचाउन सहयोग गर्ने हुँदा फसेको उनकी श्रीमती डम्बरकुमारी जोगीले जानकारी दिएकी छन् ।
सन् २०१४ मे ६ का दिन जोगी चढेको गाडीबाट फिलिपिनी सहकर्मी अचानक खसेको र निजलाई सहयोग गर्न उठाएर आफ्नो कम्पनीको सुपरभाइजरलाई घटनाबारे जानकारी दिएका थिए। सुपरभाइजरले कम्पनीको अर्को गाडी मगाई हस्पिटल पठाउनु भन्ने निर्देशन दिएको र सोही अनुसार निज घाइते फिलिपिनोलाई उठाई हस्पिटल पुर्याउँदा निज फिलिपिनीको हस्पिटलमै निधन भएको थियो।
घाइतेको निधन भएको रात १२ बजेतिर जोगीलाई यहाँको प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। घाइते मित्रलाई बचाउनका लागि जोगीले गरेको प्रयास नै अपराध आरोपित भएपछि जोगी पक्राउ परेका हुन्।
उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान निरन्तर दिइरहेका छन्। तर, जोगीलाई स्थानीय अदालतले हत्याको आरोप लगाएको विभिन्न संचारमाध्यमले लेखेका छन्।
यो मुद्दामा अदालतले ५ वर्ष कैद र युएई दिराम २ लाख (करिब ६२ लाख नेपाली रुपैयाँ) निज मृतक फिलिपिनोको परिवारलाई बुझाउनू भन्ने निर्णय गरेको छ।
नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले जोगीले सन् २०१९ को मार्चसम्म जेल बस्नुपर्ने र अदालतले निर्देशन गरे अनुसार २ लाख दिराम जम्मा गर्नुपर्ने बताएको समाचार युएईमा कार्यरत पत्रकार रामप्रसाद ढुंगेलले सबैभन्दा पहिलोपटक संचारमाध्यममार्फत सार्वजनिक गरेका थिए।
विसं २०७० सालमा युएई आएका तेह्रथुम फेदाप–२ ओयाक्जुङका ५० वर्षिय जोगी २०७१ सालदेखि अबुधाबीको अल वातब जेलमा कैदी जीवन बिताइरहेका छन्। इजरायलमा रहेका सामाजिक अभियन्ता तथा संचारकर्मी देव बाँस्कोटाले यो विषयमा आवाज उठाएपछि जोगी बचाउ अभियान शुरु भएको हो।
यो विषयमा एनआरएनए केन्द्रीय कार्यालय काठमाडौंलगायत युएईमा रहेका सबै सामाजिक संस्थाहरुलाई सहयोगका लागि अपिल गरिए पनि युएईमा कृयाशिल नेपाली सामाजिक संस्थाहरुले कुनै आर्थिक सहयोग गरेको पाइएन।
निम्न वर्गीय परिवारका जोगीका घरमा श्रीमतीसहित २ छोरी, ८० वर्षिया आमा र बुबा गरी ६ सदस्य छन्। बिहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने यो परिवारले ६० लाख रुपैयाँ जम्मा गर्न असम्भव भएकोले विश्वभरिबाट सहयोगको औपचारिक अपिल गरेको थियो।