संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपालीको मृत्युदर बढ्दै गएको पाईएको छ ।
अबुधाबीस्थित नेपाली दूतावासले आईतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा १०७ जना नेपालीले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष सन् २०१७ मा ८४ जना नेपालीले ज्यान गुमाएका थिए।
दूतावासले यसअघि सार्वजनिक गरेका तथ्यांकहरुलाई हेर्ने हो भने सन् २०१३ मा ७० जना नेपालीको मृत्यु भएको थियो। त्यस्तै सन् २०१४ मा ६३ जना , सन् २०१५ मा ६४ जना र सन् २०१६ मा ६६ जनाले ज्यान गुमाएका थिए।
दूतावासको पछिल्लो तथ्यांकअनुसार सन् २०१८ मा प्राकृतिक रूपमा हृदयघात, मष्तिस्क पक्षघात तथा मदिरापानका कारण ३ महिला र ४४ पुरूषको मृत्यु भएको छ। यस्तै ३ महिला र ३० पुरूषले आत्महत्या गरेको जनाईएको छ भने २ महिला र २१ पुरूषको दुर्घटनामा परि मृत्यु भएको उल्लेख छ।
दूतावासले गएको वर्ष मृत्यु भएका १०३ जनाको शव नेपाल पठाईसकेको जनाएको छ भने ४ जनाको शव नेपाल पठाउने प्रक्रियामा रहेको जानकारी दिएको छ ।
आत्महत्या गर्नेको संख्या बढ्यो
वैदेशिक रोजगारीको राम्रो गन्तव्य मानिने युएईमा नेपालीको आकर्षण बढेसँगै विभिन्न चुनौतीहरु पनि देखा पर्न थालेका छन् ।
दूतावासको तथ्यांकहरुलाई हेर्ने हो भने आत्महत्याको दर द्रूतगतिमा बढिरहेको छ। सन् २०१३ मा ९ जना नेपालीले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको थियो।
त्यस्तै सन् २०१४ मा १२ जना , सन् २०१५ मा ९ जना , सन् २०१६ मा १२ जना र सन् २०१७ मा २६ जनाले आत्महत्या गरेका थिए। अहिले यो संख्या बढेर ३३ पुगेको छ।
आत्महत्याका कारणहरू फरकफरक हुने भए पनि मुख्यरूपमा ‘डिप्रेसन’ र पारिवारिक तनावका कारण नेपालीहरुले युएईमा आत्महत्या गर्ने गरेको बताईन्छ।