एक दिवसीय वरियताको दौडमा रहेको नेपाली क्रिकेट टोली युएईसँग समान ३ एक दिवसीय र ३ टी–ट्वान्टी सिरिज खेल्न युएई आईपुगेको छ ।
मंगलबार राति युएई ओर्लिएको नेपाली टोलीले पारस खड्काको कप्तानीमा जनवरी २५ देखि फेब्रुअरी ३ सम्म ३ ओडिआई र ३ टी–ट्वान्टी गरि जम्मा ६ खेल खेल्नेछ।
कप्तान पारस खड्काको नेतृत्वमा आएको २१ सदस्यीय नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल , बसन्त रेग्मी , विनोद भण्डारी , सोमपाल कामी , सन्दीप लामिछाने, करण केसी , आरिफ शेख , रोहितकुमार पौडेल , प्रदीप ऐरी , दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै , ललितनारायण राजवंशी , पवन सर्राफ , सन्दीप जोरा , भीम सार्की र अभिनाष बोहरा टोलीमा रहेका छन्।
यसैगरी व्यवस्थापक रमण शिवाकोटी , मुख्य प्रशिक्षक जगत टमाटा सहित ५ जनाको व्यवस्थापकिय र प्राविधिक समूहसमेत युएई आइपुगेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले गएको मार्चमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको यो दोस्रो एकदिवसीय सिरिज हो।
नेपाली टोलिले यस अघि नेदरल्यान्डसँग पहिलो सिरिज खेल्दै दुई खेल खेलेको थियो भने युएईसँग एकपटक एकदिवसीय खेल खेलिसकेको छ।
आईसीसीको नियम अनुसार एक दिवसिय मान्यता पाएको नेपाली क्रिकेट टोलीलाई एक दिवसिय वरियतामा पर्ने ढोका खोल्न ८ एक दिवसिय सिरिजका खेल खेल्नैपर्ने हुन्छ। युएई सँगको ३ एक दिवसीय भिडन्तपछि नेपाली टोलीलाई एकदिवसीयको वरियतामा पर्ने बाटो सहज हुनेछ।
नेपाली टोलिलाई युएईमा स्वागत
यसैबीच मंगलबार राति दुबई विमानस्थल उत्रिएको नेपाली क्रिकेट टोलीलाई युएईमा कार्यरत नेपालीहरुले भव्य स्वागत गरेका छन् ।
नेपाली खेलाडीहरु उडेको जहाज अवतरण हुनु १ घण्टा अघि नै नेपालीहरु स्वागतका लागि विमानस्थल पुगेका थिए। गैर आवसीय नेपाली संघ, नेपाल खेलाडी तथा प्रशिक्षक संघका पदाधिकारीहरु र अन्य खेलप्रेमी नेपालीहरुले दोसल्ला ओढाएर खेलाडीहरुको स्वागत गरेका थिए ।
दुबई स्पोर्ट्स सिटीको आईसीसी एकेडेमीमा सञ्चालन हुने यी खेलहरु निःशुल्क हेर्न पाईने एनआरएनए युएईका प्रवक्ता मनु क्षेत्रीले बताए।
उनले नेपाली खेलाडीहरुको हौसला बढाउन स्टेडियममै आएर खेल हेरिदिन युएईमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।