देरा दुबईको अल खालिज स्ट्रीटस्थित दुबई अस्पतालमा एक नेपाली महिला १२ दिनदेखि अचेत अवस्थामा उपचाररत छिन्।
जागिरे श्रीमान र काखे छोरीको साथमा दुबईमा रहँदै आएकी झापा शनिश्चरेकी ३७ वर्षीय कमला गिरी ब्लड क्यान्सरले थला परेपछि अस्पताल भर्ना भएकी हुन्।
विगत १२ वर्ष देखि श्रीमान बिमल गिरीसँग दुबईमा रहँदै आएकी कमला फेब्रुअरी पहिलो सातादेखि अस्वस्थ भएकी हुन्।
श्रीमान र ४ वर्षिय छोरीको रेखदेख गर्दै बसेकी उनलाई फेब्रुअरी ९ तारिखमा ज्वरो र दुखाईले च्यापेको थियो। बिमलले उनलाई सोही दिन दुबईको एस्टर अस्पताल लगेर उपचार गरे तर बिसेक नभएपछि राति १ बजे ईरानी अस्पताल लगियो।
त्यहाँबाट उनलाई अल रफा अस्पताल रेफर गरियो। फेब्रुअरी ११ तारिख अल रफा अस्पतालमा उनको विभिन्न परीक्षण भयो। चिकित्सकले त्यहीँ उनलाई रक्त क्यान्सर भएको पत्ता लगाए र तुरुन्तै उपचार थाल्नुपर्ने बताए। तर, प्राईभेट अस्पतालमा उपचार गर्न महँगो हुने भएकोले उनलाई सरकारी अस्पतालमा लगेर भर्ना गरियो।
जहाँ उनी अहिले जीवनको आशामा मृत्युसँग संघर्ष गरिरहेकि छिन्।
अस्पतालको आईसीयु कक्षमा अचेत अवस्थामा रहेकी कमलाको होस खुल्ने प्रतिक्षामा ४ वर्षिय छोरीलाई काखमा च्यापेर बिमल कुरुवा कक्षमा झोक्रिरहेका छन्।
दुबईकै एक कम्पनीमा सेल्समेनको रूपमा कार्यरत बिमल काममा नगएको दुई साता हुन लाग्यो। कम्पनीले छिट्टै काममा फर्किन ताकेता गरिरहेको छ।
आफ्नो काममा मात्रै केन्द्रीत हुनाले दुबईमा हुने नेपाली संघसंस्थासँग सम्पर्क नरहेको स्थितिमा काखे छोरीलाई कसैको जिम्मा लगाएर डिउटी जाने अवस्था नरहेको बिमलले बताए।
अहिले औषधि उपचारमा मात्रै दैनिक ३ हजार दिराम खर्च भईरहेको उनी बताउँछन्। स्वास्थ बिमा समेत नभएकोले उपचार खर्च धेरै महंगो भएको उनले बताए।
‘अस्पतालले १ लाख दिरामसम्म खर्च लाग्न सक्ने बताएको छ। त्यत्रो पैसा म कहाँबाट ल्याउँ?’, बिमलले आँखा भरी आँसु पार्दै भने।
उनले आफ्नो श्रीमतीको जीवन बचाउन सहयोगको अपिल गरेका छन्। युएईमा हुने नेपाली संघसंस्था र आम नेपाली समुदायको सहयोग पाए कमलाले छिटै नयाँ जीवन पाउने छिन्।
बिमललाई सहयोग गर्न उनको मोबाईल नं ००९७१-५६५३४८९७३ मा सम्पर्क गर्न सकिनेछ।