लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स 'यूएई' ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो 'गोल्डेन' भिषा कार्यक्रम ल्याएको छ ।
उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिले यूएईको समृद्धिका लागि योगदान दिने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् ।
'गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ प्रदान गर्ने प्रस्ताव गरिएको हो,' यूएईका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताए ।
उनीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, 'हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य अङ्ग हुनेछन् ।'
उक्त खाडी मुलुकले पहिलो समूहमा २७ अर्ब अमेरिकी डलर बराबर 'एक खर्ब दिराम' बराबर लगानी गर्ने छ हजार ८०० लगानीकर्तालाई स्थायी बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताएका छन् ।
यो खाडी मुलुकमा विदेशीका लागि पहिलो आकर्षक योजना हो । यसअघि खाडी क्षेत्रमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशीलाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रायोजन कार्यक्रम दिइँदै आएको थियो ।
पछिल्ला बर्षहरूमा तीब्र आर्थिक विकास गरेको अरब क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रमा करिब ९० लाख जनसङ्ख्या रहेको यहाँ उल्लेख्य सङ्ख्यामा विदेशी लगानीकर्ता र कामदार पनि रहेका छन् ।