बेलायतमा छायांकन गरिएको नेपाली फिल्म 'ह्याप्पी डेज' को बेलायत अल्डरसटको प्रिन्सेस हलमा आईतबार विशेष तामझामका साथ रेड कार्पेट प्रिमियर शो गरिएको छ। फिल्मकी नायिका प्रियंका कार्कीलगायत अन्य कलाकारको उपस्थितिमा फिल्मको प्रिमियर शो सम्पन्न भएको हो ।
आमन्त्रित पाहुना तथा दर्शकमाझ फिल्म प्रदर्शन गर्नुभन्दा अगाडि कलाकारहरु प्रियंका कार्की, प्रदिप खड्का, दिया पुन, बिक्की जोशी, मोनिका गुरुङ, नितेश चाम्स लगायतलाई लिमोजिन चढाएर कार्यक्रम स्थलमा ल्याईएको थियो।
उनीहरुलाई रेड कार्पेट हुँदै हलसम्म जाँदा दर्शकहरुले भब्य स्वागत गरेका थिए। सो अवसरमा नायक धिरेन शाक्य, ध्रुब दत्त लगायत सहभागी थिए।
समारोहको आकर्षणको रुपमा रहेकी नायिका प्रियंका कार्कीले प्रदर्शनी पूर्व बोल्दै दर्शकहरुको मायाँ र सद्भाव प्रति आभार प्रकट गरिन्। साथै उनले नेपाल बाहिर नेपाली फिल्म निर्माणको चुनौतीपूर्ण कार्य सम्पन्न गर्न सकेकोमा खुशी व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले फिल्म समूहलाई बधाई तथा शुभकामना दिँदै सबैमा नेपाली कला प्रतिको सम्मानको आवश्यकतालाई औल्याएका थिए ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीको लगानीमा विदेशमा नेपाली फिल्मको निर्माण आफैंमा एउटा गौरव भएको बताए ।
समारोहमा ह्याप्पी डेज फिल्मका निर्देशक मिलन चाम्सले फिल्म निर्माणको योगदान प्रति आभार व्यक्त गर्दै सिने जगतका अमुल्य उत्प्रेरक दर्शक हरु नै रहेकोले सबैको अपार मायाँको अपेक्षा सदैव रहने बताए।
फिल्म हेर्न आतुर कतिपय दर्शकहरुले ढिलो गरी शुरु गरिएको समारोहमा फिल्म प्रदर्शनी पूर्वको मन्तब्यहरुमा वितिष्णा प्रकट गरेका थिए। प्रिमियर शोको लागि मात्र बेलायत आईपुगेकी नायिका कार्कीसँग सेल्फी लिने दर्शकहरुको जमात उल्लेख्य देखिन्थ्यो।
बेलायतका एक ब्यावसायी बिपी खनालद्वारा प्रस्तुत ह्याप्पी डेजमा उनी लगायत हिरल जोशी भवानी शर्मा, डा. अशोक बंशल र मिलन चाम्सको लगानी रहेको छ ।
दयाहांग राई र नायिका प्रियंका कार्की तथा संजय गुप्ता, बिक्की जोशी लगायत अभिनित यो फिल्म आगामी माघ १२ गते देखि नेपालका सिने हलहरुमा प्रदर्शन हुने बताईएको छ।
https://www.youtube.com/watch?v=ZTnL2ERdGvM