तिब्बतियन धर्मगुरू दलाइ लामाले भगवान बुद्ध भारतीय भन्दै दिएको अभिव्यक्तिको बुद्ध फाउन्डेसन युकेले भत्सर्ना गरेको छ। बेलायतमा नेपालीद्वारा स्थापित बुद्ध फाउन्डेसनले उनको अभिव्यक्तिले नेपालीको भावनामाथि चोट पुग्नुका साथै बुद्धको जन्मस्थानबारे संसारलाई भ्रम उत्पन्न गराउने काम गरेको भन्दै कडा विरोध गरेको हो।
गत अक्टोबरमा दलाई लामाले दिएको भ्रमात्मक भनाई सहितको भिडियो अहिले सामाजिक सञ्जालबाट विरोध गरिरहेक छन्।
बुद्ध फाउन्डेसन युकेका अध्यक्ष दिपक श्रेष्ठ तथा महासचिव गणेश खड्का द्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्र संघीय निकाय युनेस्को लगायतले आधिकारिक रुपमा बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको प्रमाणित गरिसकेको परिप्रेक्ष्यमा लामाको उक्त भनाईले उनका अनुयायीमासमेत भ्रम उत्पन्न गर्ने भन्दै लामालाई आफ्नो भनाई प्रति माफी माग्न समेत माग गरिएको छ।
‘लामाको भनाई राजनीतिक रुपमा प्रेरित भएको देखिन्छ जसले बुद्धको जन्मस्थल भारत भएको कुरा प्रवर्धन गर्ने अभिप्रायले निहीत छ’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भारतमा बिगतमा पनि यस्ता खाले दुस्प्रचार हुने गरेको कुरालाई समेत स्मरण गरिएको छ।
भारत निर्वासनमा रहेका बुद्ध धर्म गुरु लामाले उक्त भिडियोमा बुद्धको जन्म नेपालमा भएको भन्नेलाई मुर्ख भन्दै 'वाहियात' बताएका थिए।