अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको एउटा साम्प्रदायिक अतिवादी समूह 'ब्रिटेन फर्स्ट' को भिडियो रिट्वीट गरेको विषयलाई लिएर अहिले बेलायतमा उनको सर्वत्र बिरोध र आलोचना भईरहेको छ।
बेलायत सरकार र यहाँका बिभिन्न राजनीतिक पार्टीका नेताहरुले 'ब्रिटेन फर्स्ट' को समर्थनको आशयसहित गरिएको रिट्वीटलाई गलत भन्दै साम्प्रदायिक घृणा फैलाउने कुनै पनि क्रियाकलाप बेलायतलाई असह्य हुने बताएका छन्।
राष्ट्रपति ट्रम्प आगामी फेब्रुअरीमा लन्डन आउने कार्यक्रम समेत प्रभावित हुन् सक्ने चर्चा यहाँको राजनैतिक वृत्तमा चलेको छ। उनको आसन्न राजकीय भ्रमण रद्द गरेर लो प्रोफाएल बन्न सक्ने आँकलन जानकारहरुले यतिबेला गरेका छन्।
बिपक्षी लेबर पार्टीका एक जना सांसद क्रिस ब्रायंटले राष्ट्रपति ट्रम्प बेलायत आएमा उनलाई साम्प्रदायिक घृणा फैलाउने चेष्टा गरेको आरोपमा गिरफ्तार गरिनुपर्ने बताएका छन् ।
बेलायती प्रधानमन्त्री टेरेसा मेले राष्ट्रपति ट्रम्पको उक्त कार्यलाई 'गलत' भनेकी छन्। प्रधानमन्त्री मेको प्रतिक्रिया पछि ट्रम्पले पुनः ट्वीट गर्दै बेलायती प्रधानमन्त्रीलाई आफ्नै देशका मुस्लिम आतंकवादी सम्हाल्न ध्यानाकर्षण गराएका छन्।
https://twitter.com/realDonaldTrump/status/936037588372283392
सोही प्रसंगको जवाफमा प्रधानमन्त्री मेले भनेकी छन् ,'बेलायतले अमेरिकासँग सहकार्य गर्छ भन्नुको तात्पर्य यो होईनकि अमेरिकाको गलत क्रियाकलापको विरोध गर्न बेलायतलाई कुनै डर होस्'। 'उनको ट्वीट गलत थियो र हामी गलतनै भन्छौँ', उनले अगाडि भनेकी छन्।
लन्डन मेयर सादिक खानले घटनालाई बेलायत अमेरिकाको खास सम्बन्ध माथिको धोका भन्दै ट्रम्पको बेलायत भ्रमण रद्द गर्न माग गरेका छन्।
यसैबीच अमेरिकाका लागि बेलायती राजदूत सर किम ड्यारोचले बेलायत सरकारको तर्फबाट ह्वाईट हाउसमा विरोध दर्ज गरिसकेका छन्।
त्यसैगरी बेलायती गृहमन्त्री अम्बर रडले ट्रम्पको राजकीय भ्रमण छिटै नहुने संकेत गर्दै ट्रम्पले ट्वीट गर्ने बानी नै परित्याग गरे हुने बताएकी छन्।
प्रमुख प्रतिपक्षी दलका नेता जेरेमी कोर्विन लगायत अन्य राजनीतिक पार्टीका नेताहरु तथा सरकारका अन्य मन्त्रीले राष्ट्रपति ट्रम्पको यो सवालमा कडा आलोचना गरेका छन्।
राष्ट्रपति ट्रम्पले गत बुधवार ब्रिटेन फर्स्ट का मुसलवान विरोधी तीन वटा ट्वीट लगातार रिट्वीट गरेका थिए। ब्रिटेन फर्स्टलाई बेलायतमा साम्प्रदायिक घृणा फैलाउने अपराधिक समूहका रुपमा लिइन्छ । यस्तो समूहको समर्थन गर्नु अमेरिकी राष्ट्रपतिको असभ्य र नालायकीपन भन्दै मिडिया र सामाजिक सञ्जालमा समेत चर्को आलोचना भईरहेको छ। अहिले उनको बेलायत मात्र नभएर संसारभरबाट ब्यापक विरोध भईराखेको छ ।
बेलायत अमेरिकाको 'स्पेसल रिलेसन' भनिने खास सम्बन्धमा समेत ट्रम्पको व्यवहारको कारण आंच आउन सक्ने चर्चा अहिले बेलायतमा चुलिएको छ।
यसका बावजुत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण स्थगित नगरिएमा उनको विरोधमा लाखौ जनसमुदाय सडकमा ओर्लिने चेतावनी आलोचकहरुले दिएका छन्।