नेपालमा भर्खरै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ। एक दशक बढीको माओवादी युद्ध र अर्को दशकको अन्यौलग्रस्त संक्रमणकाल पछिको यस निर्वाचनले देशको राजनीतिक गति बढ्ने आशामा यो चुनावमा नेपालीहरूको उत्साहजनक सहभागिता स्वाभाविक थियो।
यसैगरी संसारभर छरिएर रहेका लाखौँ गैर आवासीय नेपालीहरू प्रत्यक्ष मतदानमा सरिक हुन त पाएनन् तर पार्टीका उम्मेद्वारहरूको समर्थन र विरोधका हिसाबले उनीहरूको सक्रियता नेपालका नेपालीको भन्दा कम देखिएन।नेपालमा बस्ने आफ्ना आफन्तजनलाई कन्भिन्स गर्ने देखि मिडिया र सामाजिक सञ्जालमार्फत उनीहरूले पोखेका भावानालाई नियाल्दा यस्तो लाग्थ्यो, उनीहरू विदेशमा होइन नेपालमै बसेर राजनीति गरिरहेका छन्।
नेपालमा आफ्ना घर परिवारको भोट परिवर्तन गर्ने संवाहकको रुपमा प्रवासी नेपालीहरूको भूमिकालाई पनि नकार्न मिल्ने अवस्था वर्तमानमा नदेखिएको एउटा तर्क छदैँ छ। त्यसमथि विदेशमा राजनैतिक पार्टीका भातृ संगठनमा आवद्ध हुनेहरू, र पुरानै आस्थामा अडिकहरूको जमात बाहेकका कतिपय नेपालीहरू आवश्यकता अनुरुप परिवर्तनमुखी पनि देखिए।
मध्यपूर्व र अन्य देशका अलावा यूरोप, अमेरिका, अष्ट्रेलिया जस्ता विकसित देशमा आवासीय अधिकार लिएर बसेका नेपालीहरू नेपालको राजनीतिमा यति बिघ्न सरोकार र चासो किन राख्छन्र भन्ने प्रश्नको जवाफ विभिन्न कोणबाट दिने गरिएको छ। कतिपयले यसलाई विदेशमा बसेर नेपालको राजनिती फलाक्नुको कुनै अर्थ नभएको विश्लेषण गर्छन्र भने अधिकांशले आफ्नो मातृभूमि प्रतिको मायालाई चित्रण गर्ने गर्दछन्।
सामाजिक संजालतिर हुने बहसहरूमा विदेशबाट नेपालको राजनीतिमा नेपालीहरू सक्रिय देखिनु स्वाभाविक भएका टिप्पणीहरुले बहुमत पाउने गरेको छ। देशबाट टाढा रहँदा मौलाउने नेपालप्रतिको बढ्दो माया, देशको समृद्धिमा आफ्नाहरूले र कालान्तरमा आफू स्वयंले भोग गर्न पाइने सुखानुभुतीका परिकल्पनालाई पनि कसैले कारकको रुपमा बताउने गर्दछन्र। अर्कोतिर अनावश्यक र ‘ताई न तुई’को बेकारको राजनीति भन्ने टिप्पणीहरू पनि भेटिन्छन्।
यसै सन्दर्भको एउटा प्रश्नमा मलेशियामा विगत तीन वर्षदेखि बस्दै आएकी नेपालमा गुल्मीकी मनिकला भन्छिन्, ‘हरेक चिज नजिक भन्दा टाढाबाट स्पष्ट देखिन्छ त्यसैले प्रवासबाट देशको राजनैतिक अवस्थालाई सजिलै बुझ्न सकिन्छ र देशको माया टाढा बसेकालाई अलिक धेरै लाग्छ।’
अमेरिका बस्ने दशरथ उप्रेतीले देशप्रेम भूगोल र भौतिक कुरा भन्दा पनि भावनात्मक कुरा हो भन्दै देशभक्ति र राष्ट्रियताको बृहत परिध रहेको बताउँछन्। ‘मेरा छोराछोरीको नेपालसँगको सम्बन्ध नटुटोस्, उनीहरू एकदिन नेपाललाई काम लागुन् हामी प्रवासीले चिन्ता र चासो लिदा नेपाललाई राम्रो नै हुन्छ।’
‘संसारको सबैभन्दा सुन्दर तर सबैभन्दा गरिब देश’ भन्ने बिबिसीको वाक्यांश उदृत गर्दै युकेबाटै एक व्यवासायी राजाराम गिरी भन्छन्, ‘सबैभन्दा सुन्दर र गरिबको ठाउँमा समृद्ध’ भनेर सुन्ने र गर्व गर्ने दिन कहिले आउला भनेर हामीले राजनीति मात्र होइन देशमा हुने सबै गतिविधिलाई नियाली रहेका हुन्छाैँ।’
‘राजनितीले नै देशलाई भविष्यको आकार दिने हो र हाम्रो देश हामीलाई सबैभन्दा प्रिय छ, मेरो आंकलनमा नेपालको राजनितीप्रतिको चासो र रुची यसैकारण छ’ संचारकर्मी संगीता मरहट्ठाले प्रतिकृयामा लेखेकी छन्।
विदेशमा बस्ने नेपालीलाई नेपालको राजनितीमा किन धेरै चासो भन्ने सवालमै लन्डनबाट गंगा खरेलले भूमण्डलीकरणको वर्तमान यूगमा यसलाई सापेक्षताको रुपमा हेरिनु पर्ने बताउछन । विदेशमा बस्ने भारतीय र अफ्रिकनहरुको देश प्रेमको हवाला दिदै उनी भन्छन ’हामीहरु पनि नेपाल सफल र समुन्नत राष्ट्र बनोस भन्ने कुरामा सचेत रहने कुरालाई अन्यथा मान्नु हुदैन’ ।
‘विदेशी भूमीमा नेपाली हुनुको परिचय खोज्न देश समृद्ध हुनुपर्ने रहेछ यसैको निम्ति राम्रो सक्षम र इमान्दार नेताको चासो भएकोले सल्लाह सुझाव र खबरदारी गरेको हुनुपर्छ’, दिप गिरीले बेलायतबाट लेखेका छन्।
एनआरएन अभियानमा क्रियाशील रहँदै आएका लक्ष्य गुरुङले राजनैतिक पार्टीको आवद्दता, यसको नशा, नेपालको लथालिंग राजनीति, स्थानीय राजनितीको अनविज्ञता र विकसित देशमा बस्दा आफ्नो देश कहिले यस्तो होला भन्ने उत्सुकताले राजनीपत तर्फको ध्यान बढेको बताउँछन् ।यसरी केही प्रतिनिधीमूलक विचारहरू हेर्दा विदेशबाट राजनीति गर्न खोजेको नभएर देश विकास भएको हेर्ने अगाध चाहनाले गर्दा राजनीतिप्रति चासो राखेको बताउनेहरू धेरै भेटिएका छन्।
अर्कोतर्फ विदेशमा पैसा कमाए पछी नेपालमा गएर राजनीति गर्ने, फुर्सदको बसी–बियाँलो र अनावश्यक हस्तक्षेप जस्ता टिप्पणी हरु पनि फ्याट्ट फुट्ट आउने नगरेका भने होईनन । यही सवालको प्रतिक्रियामा लन्डन बाट रेशम बस्याल भन्छन्, ‘विदेशमा पैसा कमाई सकेपछि अवसर पाए त पद र प्रतिष्ठाको लागि नेपालमा राजनीति गर्ने सपना देखेका हुन्छन्।’
यसैगरी कतिपयले विदेशमा पलायन हुनेहरू भन्ने सन्दर्भमा लिभरपूल यूनिभर्सिटीमा प्राध्यापन गरेर नेपालको राजनितीलाई नजिकबाट नियाल्दै विश्लेषण हरु लेखिरहने डा. हेमराज शर्माले पलायन भए त देख्नै पाइने थिएन भन्ने आशयमा भन्छन्, ‘विदेशमा आएर पलायन भएकाहरूलाई तपाई न सामाजिक सञ्जालमा देख्नु हुन्छ न नेपाली समाजमा।’
गैर आवासीय नेपाली संघका अगुवाहरू भने नेपालको राजनैतिक पार्टी सँगको सामिप्यता देखाउन नचाहेको स्पष्ट हुन्छ। उनीहरू खासगरेर नेपालमा जुनसुकै पार्टीको सरकार भए पनि सुशासन समृद्धिको कुरा उठाउने गरेका छन्।
गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सँधैजसो आफ्नो भनाइमा नेपाल देशको समृद्धिलाई दोहोर्याइ रहन्छन्। उनी भन्छन ‘व्यक्ति धनी भएर मात्र हुँदैन जब सम्म नेपाल देश एउटा समृद्ध राष्ट्र बन्दैन तबसम्म हामी गैरआवासीय नेपालीको पहिचान पनि गरिब देशका नागरिककै रुपमा रहन्छ।’ यसैगरी एनआरएनको नेतृत्व गरिसकेका जीवा लामिछाने लगायतका अन्य अगुवाहरू पनि आफूले विदेशमा उद्यम गरेर सफलता चुमेर मात्र चित्त बुझाउन नसकेका देखिन्छन्। नेपालमा लगानी, प्रयटन प्रवर्द्धन र परोपकारी कामका हिसाबले उनीहरूको क्रियाशीलता र योगदान उल्लेख्य रहिआएको छ।
समग्रमा नेपालको राजनीतिसँग गैर आवासीय नेपालीहरूको चासो र सरोकार देशमा शान्ति, सुव्यवस्था, स्थायित्व र आर्थिक विकास होस् भन्नेमै निहीत रहेको छ। तथापि पृथक स्वरूपका अभिष्ट बोक्नेहरू पनि नभएका भने होइनन्। आशा गरौँ अब बन्ने सरकारले त्यो अनुभूति दिन सकोस्।