न्यूरो सम्बन्धी बरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटा आकस्मिक रुपमा बिरामी परेपछि लन्डनको किंग्स कजेज हस्पिटलमा भर्ना भएका छन्।
लन्डनस्थित नेपाली दूतावासका अधिकारीले डा. देवकोटा बिरामी परेर हस्पिटल भर्ना भएको कुरालाई सेतोपाटीसँग पुष्टी गरेका छन्।
दूतावास स्रोतका अनुसार बिरामी चेक गर्न बेलायत आएका देवकोटा अचानक बेहोस भएपछि बिगत दुई सातादेखि यहाँ उपचाररत छन्।
डाक्टर देवकोटा लन्डनस्थित हस्पिटलमा बिरामी जाँच गर्ने क्रममा आफैं फेन्ट भए पछि उनलाई उपचारको लागि भर्ना गरिएको हो।
उनको स्वास्थ्य स्थिति अहिले सामान्य नै रहेको बताईएको छ। कसैको व्यक्तिगत सूचना सार्वजनिक नगर्ने प्रचलन अनुरूप उनलाई के भएको हो भन्ने आधिकारिक जानकारी हस्पिटलले दिएको छैन। यसअघि उनको स्वास्थ्य स्थितिबारे जानकारी लिन बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी अस्पाताल पुगेका थिए।
बेलायतमा अध्ययन तथा प्रशीक्षण पुरा गरेर नेपाल फर्किएका देवकोटा नेपालमा मात्रै नभएर दक्षिण एसियामै न्यूरो सर्जकको रूपमा ख्याती कमाएका न्यूरो चिकित्सक मानिन्छन्।
तत्कालिन राजा ज्ञानेन्द्रको पालामा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देवकोटा बेला बखत राजनीतिको चर्चामा आउने गरेका छन्।
नेपालको बाँसबारीमा रहेको न्यूरो हस्पिटलका सञ्चालकसमेत रहेका देवकोटा केही साताअघि बेलायत आएका थिए।