तमुहरुको महान पर्व ल्होछार बेलायतबासी तमुहरूले भव्य रुपमा मनाएका छन्। बेलायतस्थित विभिन्न तमु संघसंगठनहरुको आयोजनामा विभिन्न स्थानमा छुट्टाछुट्टै ल्होछार कार्यक्रम सम्पन्न भए।
तमुहरुको पर्व ल्होछार मनाउन आयोजित समारोहमा तमुहरुका साथै बेलायतवासी गैरतमु नेपाली तथा कतिपय बेलायतीहरु समेतको सहभागिता देखियो ।
ठूलो संख्यामा जमघट, एकआपसमा शुभकामना आदानप्रदान र विविध सांस्कृतिक प्रस्तुतिहरुका माझ ल्होछार मनाइएको हो ।
बेलायतस्थित तमुहरुको सबैभन्दा ठूलो संस्था तमु धिं यूकेले गत डिसेम्बर ३० तारिखमा रेडिंगमा ल्होछार कार्यक्रम गर्यो।
त्यस्तै, तमु धि यूकेका क्षेत्रीय इकाईहरुले पनि छुट्टछुट्टै कार्यक्रम गरी ल्होछार मनाएका छन् ।
तमु धि लण्डन ईकाईले जनवरी ७ तारिख ल्होछार कार्यक्रम आयोजना गर्यो भने साउथ ईस्ट ईकाईले शनिबार १४ जनवरिमा ।
तमु समाज यूके, तमु प्ये ल्हु संघ यूके लगायतका ठूला संस्थाहरुका अलावा विभिन्न क्षेत्रीय र भेगीय साना संस्थाहरुले पनि ल्होछार विशेष कार्यक्रम गरी ल्होछार मनाएका छन् ।