गैर आवासीय नेपाली संघ बेलायतले वर्तमान कार्यसमिति सल्लाहकारमा२ सय ९३ जनालाई मनोनित गरेको छ।
मनोनित हुनेहरुको लम्बेतान सूचीमा बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी ब्यवसायी, संचारकर्मी र सामाजिक रुपमा क्रियाशील यूवाहरु छन्। सल्लाहकार मनोनयनसँगै जम्बो सल्लाहकार टोली बनाएको आरोप कार्यसमितिले खेपिरहेको छ।
सल्लाहकार घोषणाअघि वर्तमान कार्यसमितिले सल्लाहकारको सूची केही छोटो बनाउने बताईए पनि सबैलाई समेट्ने प्रयास स्वरूप सल्लाहकारको संख्या बढाउनु परेको प्रतिक्रिया कार्य समितिको छ। महासचिव राज कुमार त्रिपाठीले एनआरएनलाई समावेसी बनाउने आफूहरुको प्रयास रहेको बाताए।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले एन आर एनमा सबैको अपनत्व होस् भन्नका खातिर बनेको लामो सल्लाहकार मनोनयनलाई अन्यथा लिन नहुने बताए। 'सामाजिक सेवामा लागेका व्यक्तित्वहरुको योगदानको कदर गर्दै उनीहरुको सम्मान स्वरूप यो मनोनयन भएको हो, यसमा अन्यथा लिनु हुँदैन’, सेतोपाटीसँगको कुराकानीमा अध्यक्ष फगामीले भने, 'सामाजिक व्यक्तित्वहरु समेट्दा धेरै भएको हो। उनले सल्लाहकारको सूची छोटो बनाउने कार्यसमितिको प्रयासको बावजुत यहाँको नेपाली समाजको विविधतालाई समेट्नु पर्ने बाध्यता रहेको बताए।
यसअघि वर्तमान कार्यसमिति अन्तर्गत बिभिन्न उपसमितिहरु गठन गर्दै तिनीहरुमा अनेकन पदाधिकारी र सल्लाहकारहरु चयन समेत गरिएको थियो।
कार्यसमिति निर्वाचित भएको झन्डै ४ महिना पछिको लामो कसरतमा घोषणा गरिएको जम्बो सल्लाहकार मनोनयनलाई कतिपयले सामाजिक संगठनमा पद लोलुपता र बाँडफाँडको संज्ञा दिदै यहाँको नेपाली समाजमा ब्याप्त पदको चाहनालाई चित्रण गरेका छन्।