एन आर एन यूकेले २ सय ९३ जना सल्लाहकार मनोनित गरेपछि एक मित्रले एनआरएनकै कार्यक्रममा गफिदै भने, ‘अब यो भीडमा जो कसैलाई पनि अन्दाधुन्द सल्लाहकार बनेकोमा बधाई दिँदा फरक नपर्ने भो,’ जम्बो सल्लाहकार नियुक्त पछि यताको नेपाली बजार यसको आलोचनामा एक छिन तातेर सेलाईसकेको छ।
ईतिहासमै सल्लाहकार संख्याको रेकर्ड बनाएर एन आर एन यूकेले आफ्नै रेकर्ड दर्ज गरेको त छँनै सल्लाहकारको काम कर्तब्य र अधिकारमाथि प्रश्न चिन्न पनि खडा भएको छ।
सल्लाहकार शब्द आफैंमा जति वजनदार छ भए भरका मान्छेलाई समावेसिताको नाममा खुसी तुल्याउन खोजेर नियुक्त गरिनु एन आर एन जस्तो संस्थाको लागि एउटा गरिमाको प्रश्न बनेको कुरामा कुनै दुविधा छैन।
एन आर एन यूकेका अध्यक्षले
सबैलाई समेट्न खोज्दा धेरै भएको र यसलाई अन्यथा लिन नहुने बताएका छन्।
धेरैलाई समेट्नु नराम्रो पक्ष होईन तर समेट्ने नाममा यसको सीमा र दायरा कति भन्ने कुरा झनै प्राथमिक बन्न जान्छ। तीन-तीन सय जना मान्छे छानिँदा आफ्नो नाम नपरेको देख्नेले अवमुल्यन भएको ठहर गर्दै संस्था प्रति अनुदार बन्न सक्ने कुरा घातक हुनेछ भन्ने कुरालाई वेवास्ता गरिएको देखिन्छ।
यहाँनेर बताइएको समावेशी मान्यतालाई चुतौती दिने प्रमुख कृत्य नपर्नेहरुको मनोविज्ञान हुन् जानेछ।
‘आलोचना त थोरै सल्लाहकार बनाउँदा पनि आउथ्यो बढी बनाउँदा पनि आउँछ अनी हराउँछ’, कार्यसमितिका एक मित्रले अनौपचारिक कुराकानीमा काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने शैलीमा प्रतिकृया दिएका थिए।
अर्कोतर्फ सल्लाहकार मनोनयन पश्चातका प्रतिक्रियालाई सुक्ष्म रूपमा केलाउने हो भने हाम्रो समाजमा व्याप्त पदको भोकोपना छर्लंगै झल्किन्छ। सामाजिक संजाल तर्फ डीसेन्सी देखाउने केही प्रवुद्धहरू आफू सल्लाहकारमा परेपछि यो नियुक्तीको बचाउमा लागेका छन्, नपर्नेहरू आलोचनाबाट डगमगाएका छैनन्।
सामाजिक संजालमा आलोचना गर्नेमध्ये अधिकांशमा तीन सय जनाको सल्लाहकार बनाउँदा पनि आफू नपरेको अव्यक्त गुनासो झल्केको अनुमान लगाउन सकिन्छ। अर्कोतिर जम्बो सल्लाहकार बनाउनुको मौन विरोध जनाउँदै आफू पर्न सफल भएकोमा अव्यक्त खुसीको आत्मरतीमा रमाउनु पनि उत्तिकै रोचक छ। ‘या त आफू यस्तो जम्बो र औचित्यहीन सल्लाहकारको टिममा नबस्ने घोषणा गर्न सक्नु पर्यो होईन भने यसको विरोध गर्नुको कुनै तुक छैन’, यही प्रसंगमा एक जनाले भनेका थिए।
गत साता एन आर एन यूकेले आइ सी सी अध्यक्ष भवन भट्टको वाहुलीबाट सल्लाहकारलाई सम्मान गर्ने कार्यक्रम समेत बनाएको थियो। जसमा मात्रै एकाध दर्जन नवनियुक्तले खादा थपेर बकाईदा फोटो टाँसीसकेका छन्।
कार्यक्रममै भएर पनि सम्मानित हुन नजानेको संख्या अधिकांश रह्यो जसले कतिपयलाई यो सम्मान निल्नु न ओकेल्नु भएको सजिलै अनुमान लगाउन सकिन्थ्यो।
सल्लाहकारमा टिप्नुको दयारा छुटयाउँदै कतिपय पूर्व कार्यसमितिकै मान्छेलाई ब्यवसायी, पत्रकार आदि इत्यादिको क्याटेगोरीबाट लिएको देखाइएको छ। कतिपय एन आर एन अभियान्तालाई संघ संस्थाको प्रतिनिधिको रूपमा समेत राखिएको छ। यसबाट के स्पष्ट हुन्छ भने समाजका बिभिन्न तह र तप्काका मान्छेहरु मनोनित गरिएको देखाउन खोजिए पनि आखिर तिनै मान्छे हुन जो हाम्रो समाजमा विविध टाइटल बाट अनेकन रुपमा एउटै प्ल्याटफर्ममा देखिन्छन्।
त्यसैले होला 'जता गए पनि उनी मान्छे', भन्ने आम जनसमुदायको सामाजिक बिल्ला उनीहरुले भिरेकै छन्।
यसभन्दा अघिल्लो कार्यसमितिले विषेशतः तत्कालिन अध्यक्षको चाहमा निहीत कोष खडा गर्न सजिलो हुने उद्धेश्य राखेर झन्डै दुई सय सल्लाहकार नियुक्त गरेको थियो जुन आफैंमा गलत थियो। त्यही नजिर माथि टेकेर अहिले अर्को सय सल्लाहकार थपिएको हो भन्ने पुष्ट्याईको तर्क समेत अहिले हावी भएको पक्कै हो।
वर्तमानमा यसरी तन्क्याईएको सल्लाहकार समितिमा एन आर एनमा लागेका अभियान्ता न त सल्लाहकारमा आफ्नो नियुक्तिलाई अस्विकार गरेर बाहिरिन सक्छन् न सगौरव यो जिम्मेवारी लिएकोमा कर्तव्यवोध गर्न नै सक्छन्। यो मानेमा एन आर एन यूकेको सल्लाहकार पद सल्लाहकार स्वयंलाई निल्नु न ओकेल्नु जस्तो भएको बुझ्न कुनै कठिनाई पर्दैन।
अर्कोतर्फ कार्यसमिति स्वयंलाई सल्लाहकार जन्माउँदाको सकस आफ्नै ठाउँमा छ। पद नदिउँ त्यसकै झोकमा सामाजिक मान्छेहरु भडकिएलान् भन्ने डर पद दिउँ जम्बो समिति बनाए भन्ने आलोचना। तिनै मान्छेहरूले सल्लाहकार नपाएको भए सामाजिक संजालमा कुर्लिदै अभियान बहिस्कार गरेको घोषणा गरिसक्ने थिए अहिले तिनै नियुक्तहरू धेरै भयो भनेर विरोध गर्दैछन् भन्ने कुरामा असत्यता छ भन्न भने सकिदैन। तर यति ठूलो समिति बनाउँदा पनि कार्यसमितिमा कुनै छलफल नगरिएको गुनासो कार्यसमितीकै सदस्यहरुले गर्ने गरेका छन्।
अध्यक्ष र महासचिवको खल्तीमा भएको लिस्ट लाई बढाउँदै लगेको र आफूसँग कुनै सल्लाह नभएको कुरा समेत उनीहरुले बताएका छन्।
जे होस प्रवासका नेपालीलाई एउटै सूत्रमा उन्ने उद्धेश्यले स्थापित संस्था एन आर एनको सकारात्मक भन्दा नकारात्मक टिप्पणी मौलाउदै गएको वर्तमान परिप्रेक्षमा सल्लाहकार नियुक्तिको वर्तमान आलोचनामा आलोचित र आलोचक दुवै पानि माथिको ओबानो बन्न सक्ने अवस्थामा छैनन्। तर, संस्थाको गरिमा उचो बनाउन कै खातिर पनि पदको गरिमालाई ध्यानमा राखेर नियुक्ति गरिनु भविष्यको निम्ति उपयुक्त रहला।
उसो त एन आर एन आई सी सीले पनि ११ जना सल्लाहकार नियुक्त गर्ने वैधानिक प्रावधानमा अटाउने पर्नेलाई अटाउन नसकेर होला ५० जनाको अनररी काउन्सिल खडा गरेर बरिष्ठलाई थन्को लगाएको छ।
एन आर एन मात्र होईन नेपाली डायस्पोराका च्याउ उम्रे सरीका संघ संस्था हरुमा पद लिने र दिने एक खालको होडबाजी नै व्याप्त छ। सल्लाहकार तथा कार्यसमितिमा आफ्नो भूमिका नबुझ्ने र भूमिका बुझ्न नसक्नेलाई पदकै खातिर नियुक्त गरिने प्रचलन सामान्य बन्दै गईरहेको छ। सल्लाहकार बन्नेहरु न सल्लाह दिने हैसियत राख्छन न त उनीहरुसँग वास्तविक सल्लाह नै मागिन्छ , जे छ नाम कै लागि छ । सबैको जय होस्!