विदेशमा बस्ने नेपाली वा नेपाली मूलका गैर आवासीय नेपालीलाई बारम्बार गरिने एउटा प्रश्न हो– 'नेपाल कहिले फर्कने?' यो प्रश्न चिनेजानेका सबै किसीमका मान्छेहरूले गर्छन्, जो विदेशमा बसेर आफ्नो योग्यता र दक्षता अनुसारको काम गर्दैछन् वा कुनै न कुनै किसिमको श्रम गर्दैछन्।
त्यस्ता मानिसहरूलाई यो प्रश्न आउनु स्वभाविक पनि हो। किनकि धेरैको चाहना के छ भने आर्थिक विकासको चरणमा रहेको नेपालको लागि लगनशील, दक्ष र योग्य नेपालीहरुको श्रम, सीप र लगानीको खाँचो छ।
यो प्रश्नसँगै धेरै विदेशमा बस्ने नेपाली वा नेपाली मूलका गैर आवासीय नेपालीको मनमा आउने कुरा के हो भने 'नेपाल त फर्कने, तर त्यहाँ गएर के गर्ने?' यो प्रश्न आउनुको पछाडि केही व्यक्तिगत, सामाजिक, सांस्कृतिक, राजनीतिक र मनोवैज्ञानिक कारणहरू पनि छन्। कसैले त्यस्ता तर्क–वितर्क र कारणलाई सहज रुपमा लिन्छन् भने कसैले त्यस्ता कारणलाई कुनै नै कुनै किसिमले व्यवधानको रूपमा लिन्छन्।
हरेक मानिसका आ-आफ्नै प्राथमिकता, उद्देश्य, विचार, चाहना र परिस्थितिहरू हुन्छन्। त्यसैले त हरेक मानिस भिन्नभिन्न हुन्छन्। सबै उत्तिकै देशप्रेमको भावना बोक्ने र मातृभूमिको लागि केही गर्नुपर्छ भन्ने चाहना राख्ने पनि हुँदैनन्। कसैको लागि भौतिक सुख–सुविधा प्राथमिकतामा आउँछ भने कसैको लागि सन्ततिको भविश्य। कोही पैसाको लागि त कोही पढाइको लागि, कोही राम्रो कामको लागि त कोही प्रतिष्ठाको लागि विदेशमा बस्नेहरू थुप्रै छन् यहाँ।
मेरो अनुभवमा विदेशमा बस्ने नेपाली वा नेपाली मूलका गैर आवासीय नेपाली धेरैको रहर सँधै विदेशमा बस्ने छैन होला। नेपाल फर्कन मन भए पनि धेरै व्यवहारिक पक्षको कारणले भने जस्तै गरी वा चाहने बित्तिकै फर्कन्छु भन्न पनि सजिलो छैन। तर त्यसो भन्दैमा नेपाल फर्कन चाहनेको लागि अवरोध पनि छैन। आखिर मन नै हो, कसरी के कुरामा मन अड्याउने, फर्काउने वा मनलाई बहकाउने आफ्नै हातमा छ।
नेपाल जाने मन हुनेको लागि मनमा बारम्बार आउने एउटा प्रश्न के हो भने 'नेपाल त फर्कने, तर नेपालमा गएर त्यहाँ के गर्ने?' कुरा पनि सही हो। राम्रो कमाई, सुविधासम्पन्न तथा व्यवस्थित जीवन र सन्ततीको सुन्दर भविष्य हुँदाहुँदै धेरै मानिसहरू आफ्नो जीवनमा धेरै जोखिम लिन चाहँदैनन्। त्यसैले पनि हरेकले धेरै पटक सोच विचार गरेर मात्रै नेपाल जाने निर्णय लिनु स्वाभाविक पनि हो।
धेरैलाई अहिले पनि लाग्छ नेपालमा बहुदलीय प्रजातन्त्र आएको झन्डै तीन दशक भई सक्दा पनि जनताको जीवनस्तरमा खासै परिवर्तन आएको छैन। भ्रस्टाचार निवारणमा ठोस कदम चालिएको छैन। धेरै ठाउँमा राम्रालाई हैन हाम्रा र नातागोतालाई प्रशय दिने चलन बढेको छ। धेरै ठूला–ठूला आयोजनाहरूको कार्यान्यनमा ढिलासुस्ती छ। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धानेको छ। नेपालका हरेकजसो पार्टीभित्र गुट, उपगुट मौलाएका छन् र दलालहरूको बिगबिगी छ। त्यसैले नेपालमा खास केही प्रगति र उन्नति हुन्न र केही गर्न पनि सकिँदैन।
अर्को तर्फ नेपालको सकारात्मक पक्ष हेर्ने हो भने धेरै कुराको सन्दर्भमा नेपाल एउटा उदयमान देश हो। भर्खरै नयाँ संविधान लागू भएर संघीयता, समावेशीता र लोकतान्त्रिक समाजवादको प्रयोग हुँदैछ। आर्थिक विकास सबैको मुद्दा बनेको छ। नेपालमा धेरै वर्षपछि स्थिर र स्थायी सरकार बन्ने देखिएको छ। नेपालमा धेरै क्षेत्रमा अवसरहरू छन् र अहिले काम गर्नेहरुको लागि नेपाल 'भर्जिन ल्याण्ड' बन्ने धेरै सम्भावना छ। नेपालमा ब्यवसाय गर्न चाहनेको लागि, श्रम र सीप गर्न चाहने योग्यता र दक्षता हुनेहरूको लागि थुप्रै अवसरहरू छन्। धेरै अवसर भएकाले यस्ता अवसरहरूको बीचमा के छनौट गर्ने भन्ने प्रश्न प्रमुख प्रश्न हो।
विदेशमा बस्ने नेपाली वा नेपाली मुलका गैर आवासीय नेपालीहरूको लागि नेपालमा काम गर्ने वा बस्नको लागि मुख्यत: चार वटा सम्भावनाहरू छन्। पहिलो आफ्नो क्षेत्रको पेसा अपनाउने र काम गर्ने, दोश्रो कुनै व्यवसाय गर्ने, तेश्रो समाजसेवा गर्ने र चौथो अवकासको जीवन बिताउने। वा, यी मध्ये कुनै एक भन्दा बढी काम सँगै गर्ने।
विदेशमा बसेर कुनै न कुनै काम गर्नेहरूले आफूले गरेको कामबाट धेरै अनुभव, सीप, दक्षता र योग्यता सिकेका हुन्छन्। त्यो चाहे कुनै श्रम गर्नुपर्ने काम होस् वा कुनै उच्च दक्षता र योग्यता चाहिने काम नै किन नहोस्।
विदेशमा जुन किसिमले हरेक कामको लागि तालिम दिने गरिन्छ, काममा लगाव राख्न र इमान्दार हुन सिकाइन्छ र खट्नुपर्ने हुन्छ त्यसरी नै नेपालमा काम गर्ने हो भने नेपालमा धेरै क्षेत्रमा उन्नति र प्रगति गर्न सकिन्छ। साथै, हालको परिस्थितपिमा नेपालमा त्यस्ता इमान्दार, अनुभवी, मेहेनती र परिश्रमी हातहरूको खाँचो छ।
नेपालमा व्यवसाय गर्ने हो भने धेरै नाफामूलक र सम्भावना भएका क्षेत्रहरू छन्। नेपालमा सानो लाखौ रुपैयाँमा गर्नसक्ने देखि ठूलो अरबौं रुपैयाँ लगानीमा काम गर्न सक्ने धेरै क्षेत्रहरू छन्। पर्यटन क्षेत्रमा अझै धेरै लगानी गर्न बाँकी छ। जलविद्युतको त के कुरा जति लगानी गरे पनि कम हुने क्षेत्र हो यो। जडीबुटी, पशुपालन र कृषिमा आधारित धेरै क्षेत्रमा व्यवसायिक रुपमा काम गर्न सकिन्छ। त्यस्तै, सेवामुलक क्षेत्रको कुरा गर्ने हो भने स्वास्थ्य, शिक्षा, पर्यटन, आईटी आदि क्षेत्रमा निकै नै सम्भावनाहरू छन्। यी त केही उदाहरण मात्रै हुन्। अनुसन्धान गर्ने र काम गर्ने क्षेत्र पहिल्याउने हो भने नेपालमा मनग्य व्यवसाय गर्न सकिन्छ।
समाजसेवा गर्नेको लागि जहाँ पनि जस्तो अवस्थामा पनि कुनै रोकावट छैन। समाजसेवा नितान्त व्यक्तिगत सुख र आनन्दको लागि मनदेखि नै गर्ने सेवा हो। आफू जन्मे हुर्केको ठाउँ, कुनै दुर्गम गाउँ, कुनै सहरको मध्ये भाग वा हेपिएको ठाउँ, गरिव वा पीडित बस्ने ठाउँ आदि जुनसुकै ठाउँमा समाजसेवा गर्न सकिन्छ। आफू आर्थिक रुपमा सवल र सक्षम भएपछि धेरैले रोज्नुपर्ने क्षेत्र समाजसेवा हो। आफ्नो जन्मभूमिको ऋण तिर्न यो भन्दा उत्तम अर्को विकल्प हुन सक्दैन।
अरु केही गर्न मन छैन भने नेपालमा अवकाशपछिको जीवन बिताउँदा पनि हुन्छ। यसले एकातिर नेपालमा आफ्नै जन्मभूमिमा आरामदायी जीवन बिताउन सकिन्छ भने अर्कोतिर नेपाललाई पनि आर्थिक रुपमा लाभ हुन्छ। हरेक नेपालीले कुनै न कुनै किसिमले नेपालमा बसोबास, स्वास्थ्य, मनोरञ्जन आदिको लागि धेरै रकम खर्च गर्छन्। विदेशमा बस्ने नेपाली वा नेपाली मुलका गैर आवासीय नेपालीहरू अवकाशपछि नेपालमा बस्दा उनीहरूको सन्ततीहरूको नेपाल प्रतिको मोह पनि बढ्छ।
काम वा व्यवसाय गर्दा सँधै सबै कुरामा सफल नै हुन सकिन्छ भन्ने छैन । सफल हुनको लागि जे गर्ने हो मनदेखि नै गर्ने, पेसा वा ब्यवसायमा रमाउने, लगनशील हुने, जोखिम कम गर्ने उपाय अपनाउने, सबैसँग परामर्श गर्ने आदी उपाय अपनाउने हो भने पक्कै सफल हुने सम्भावना हुन्छ। एकपटक असफल हुँदैमा आँत्तिनु पर्दैन। असफलताबाट पाठ सिक्नुपर्छ र अर्को खुड्किलो चढ्नुपर्छ।
नेपालमा राज्यले पनि विदेशमा बस्ने नेपाली वा नेपाली मुलका गैर आवासीय नेपालीहरुलाई सकारात्मक रुपमा हेर्नु आवश्यक छ। उनीहरूले मात्रै हैन उनीहरूका भावी सन्ततिहरूले पनि नेपालको लागि धेरै गर्न सक्छन्। वास्तवमा भन्ने हो भने उनीहरूलाई नेपालसँग जोड्न सबै अभिभावक र नेपाल सरकारको पनि ठूलो भूमिका रहन्छ। विदेशमा बस्ने नेपाली वा नेपाली मुलका गैर आवासीय नेपालीको लगानी, श्रम, सीप, योग्यता, दक्षता र अनुभव नेपालमा उपयोग गर्ने हो भने हरेक व्यक्ति स्वयम् र राज्यलाई पनि धेरै फाइदा हुन्छ।
तसर्थ, नेपाल जाने र केही गर्न चाहनेहरूको लागि के गर्ने होला भन्ने हैन अब छिट्टै नेपाल जाने र आफ्नो मनले चाहेको काम शुरू गर्ने हो।
(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा वरिष्ठ व्यवस्थापक, साथै एनआरएन यूकेको सल्लाहकार छन्।)